राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशकी पूर्वकार्यवाहक सभापति गोमा तामाङलाई ७२ घण्टे स्पष्टीकरण सोधेको छ । कोशी प्रदेश संगठन विभागले पार्टीको विधान, नीति, आचारसंहिता तथा संगठनात्मक मर्यादा उल्लंघन गरेको आरोपमा तामाङसँग स्पष्टीकरण मागेको हो ।
सामाजिक सञ्जालमा प्रकाशित सामग्री तथा प्रदेश र स्थानीय संरचनाबाट प्राप्त सूचना, प्रतिवेदन र प्रमाणका आधारमा उनीमाथि प्रश्न उठेको विभागले जनाएको छ। तामाङमाथि पार्टीको आन्तरिक संगठनमा हस्तक्षेप, गुटबन्दीसम्बन्धी गतिविधि र संगठनात्मक विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोप लगाइएको छ।
कोशी प्रदेश निर्वाचनका क्रममा ११ जुनमा सामाजिक सञ्जालमा गरिएका पोस्ट, कमेन्ट तथा प्रतिक्रियाका विषयमा पनि विभागले स्पष्टीकरण मागेको छ।विभागले पत्र प्राप्त भएको ७२ घण्टाभित्र तथ्यपरक र स्पष्ट लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।


















