राजदूत नियुक्ति सिफारिसप्रति ज्ञानेन्द्र शाहीको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राजदूत नियुक्तिका लागि हालै भएको सिफारिसले पूर्वनिर्धारित मापदण्ड पूरा नगरेको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल सरकारले राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयअन्तर्गत आफ्नै मापदण्ड तय गरेको बताए ।

परराष्ट्र मन्त्रालयले लेखेको पत्र संसद्मा देखाउँदै उनले त्यसको १० नम्बर बुँदामा ‘हाल अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट परिचालित कुनै पनि गैरसरकारी संस्थामा कार्यरत हुनु हुँदैन । यदि भयो भने त्यो व्यक्ति राजदूतका लागि उपयुक्त हुँदैन’ भनेर लेखिएको सुनाए ।

त्यसैको १४ नम्बर बुँदामा पहिले कुनै विदेशी राज्यद्धारा तलबसहितको पदमा नियुक्त भएको भए उक्त पद छाडेको १० वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड राजदूतका लागि रहेको शाहीले बताए । तर यो मापदण्ड सरकारले हालै राजदूत नियुक्तिका लागि सिफारिस गर्दा पूरा नगरेको शाहीको भनाइ छ।