जेन–जी शहीदकी आमाले संसदमा भक्कानिँदै भनिन्– यो राजनीतिक रहर होइन, न्याय खोज्ने यात्रा हो

प्रतिनिधिसभाकाे मंगलबारको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा बोल्दाबोल्दै भक्कानिएकी छन् । उनी जेन–जी आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडाकी आमा हुन् । संसदमा बोल्दै उनले प्रतिनिधिसभामा उभिनु आफ्नो राजनीतिक रहर वा लालच नभई न्याय खोज्ने यात्रा भएको बताइन् ।

‘आज यो गरिमामय संसदमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर या लालचको विषय थिएन । यो मेरो न्याय खोज्ने यात्रा थियो । मेरो कोखमा नौ महिना हुर्किएको, ताते–ताते गर्दै मेरा आँखासामु बढेको मेरो मुटुको टुक्रा, त्यतिबेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रातो रगतले न्याय खोज्दै थियो । एउटा विश्वास र पवित्र यात्रा हो,’ उनले भनिन् ।

खतिवडाले छोराको मृत्युको घटनालाई न्यायको विषयका रूपमा उठाउँदै आफू संसदमा आएको बताएकी हुन् । सांसद खतिवडाले आफूलाई खोज्दै रास्वपा दैलोसम्म पुगेको बताइन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले बारम्बार आग्रह गरेर म यो पदमा आएकी थिएँ । अन्य तमाम जेन–जीहरूको बलिदानलाई खेर जान नदिन म सदनमा पुगेकी हुँ । देशमा यत्रो परिवर्तन आएपछि पनि सरकारले बाटो बिराउन खोज्छ भने सदनमा एउटा शहीदकी आमाले निरन्तर खबरदारी गरिरहनुपर्छ भनेर म यहाँ आएकी हुँ,’ उनले भनिन् ।

आफ्नो मन्तव्य राख्ने क्रमको सुरुवातदेखि नै सांसद खतिवडा भक्कानिएकी थिइन् । ‘जुन दिन जेन–जी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउँछन्, त्यो दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुनेछैन । तर विडम्बना, मेरो उद्देश्य र छातीको घाउलाई कसैले छोराको लासमाथि सांसद पद साटेकी भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा म स्तब्ध छु,’ उनले भनिन् ।

सांसद खतिवडाले आफ्नो संसार उजाडिएको भन्दै भक्कानो छोडिन्