भारी वर्षा र हिमपातको पूर्वानुमानपछि गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मौसम विभाग पुगेर सम्भावित जोखिम र तयारीबारे जानकारी लिएका छन्।
बबरमहलस्थित विभागमा महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतसँग भएको छलफलमा बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालभर वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात बढ्न सक्ने जानकारी दिइएको थियो। विभागका अनुसार गण्डकी र लुम्बिनीमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ भने अन्य प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुनसक्नेछ। यसबाट डुबान, कटान र पहिरोको जोखिम बढ्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम विभाग र विपद् प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा तयारी तीव्र पारेका छन्। असोज ९ देखि ११ गतेसम्म अत्यावश्यक बाहेक टाढा तथा रातिको यात्रा नगर्न र जोखिमयुक्त सडकमा आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ।


















