रुपन्देहीको तिलोत्तमाबाट १० वर्षीया बालिकाको अपहरण गरेको आरोपमा प्रहरीले एक युवकलाई गोली हानेर पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका– १७, दरखसवाका २७ वर्षीय युवराज थारु ‘विशाल’ लाई प्रहरीले शनिबार राति सोही क्षेत्रको धानखेतबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा थारुले प्रतिकार गर्दै भाग्ने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिन एक राउन्ड गोली चलाइएको थियो । खुट्टामा गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार थारुले गत बुधबार राति तिलोत्तमाकै एक १० वर्षीया बालिकालाई घरमै सुतिरहेको अवस्थामा अपहरण गरेका थिए । परिवारका अनुसार बालिका भाइसँग घरभित्रको कोठामा सुतेकी थिइन् । उनका हजुरबुबा र हजुरआमा घरबाहिर सुतेका थिए । राति करिब २ बजे बालिका ओछ्यानमा नभएको थाहा पाएपछि परिवारले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
बालिकाको खोजीमा प्रहरीले बिहीबार बिहानदेखि गाउँ आसपास तथा जंगल क्षेत्रमा खोजी अभियान चलाएको थियो । अपहरणमा परेकी बालिकालाई प्रहरीले करिब ४० घण्टापछि शुक्रबार राति तिलोत्तमा– १०, कान्छीबजारनजिकैको जंगल क्षेत्रबाट सकुशल उद्धार गरेको थियो ।
बालिकाको उद्धार भएपछि प्रहरीले थारुको खोजी तीव्र बनाएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार थारुको खोजीमा करिब १५० प्रहरी परिचालन गरिएको थियो । खोजीका क्रममा शनिबार राति धानखेतमा लुकेर बसेको अवस्थामा उनलाई फेला पारिएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थारुले यसअघि पनि महिलाहरुलाई पछ्याउने, घरभित्र पस्ने तथा महिलामाथि दुर्व्यहार गर्ने गरेको खुलेको छ । पक्राउ परेका थारुमाथि अपहरण तथा अन्य कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















