रास्वपाले कांग्रेसलाई भित्तामा पुर्‍यायो, अब मैदानमा ल्याउन मेरो उम्मेदवारी: राठौर

नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसलाई भित्तामा पुर्‍याएको र कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुन खोजिरहेको अवस्थामा कांग्रेसलाई एकताबद्ध बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै राठौरले आफू सभापति बने कांग्रेसलाई एकताबद्ध बनाउन आवश्यक परे जस्तोसुकै त्याग गर्न तयार रहेको बताए।

‘म सभापति भएँ भने कांग्रेसलाई एक बनाउन जस्तोसुकै त्याग गर्न तयार छु। कांग्रेसलाई एक बनाएर लैजानका लागि मेरो उम्मेदवारी हो,’ उनले भने। राठौरले कांग्रेसको १५औँ महाधिवेशन यस्तो समयमा भइरहेको बताए, जहाँ रास्वपाले कांग्रेसलाई चुनौती दिइरहेको र कम्युनिस्टहरू पनि मिल्न खोजिरहेको अवस्था रहेको उनको दाबी छ।

आगामी स्थानीय तथा प्रदेश निर्वाचनको परिणामले कांग्रेसको अहिलेको अवस्थाको मूल्यांकन गर्ने भन्दै उनले पार्टीलाई तत्काल एकताबद्ध र सुदृढ बनाउनुपर्ने बताए।