नेकपा (बहुमत) र नेकपा (जनपक्ष) बीच एकता, नयाँ पार्टी ‘नेकपा (नयाँ बहुमत)’ गठन

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) बीच पार्टी एकता भई ‘नेपाल कम्युनिस्ट पार्टी (नयाँ बहुमत)’ – CPN (New Bolshevik) गठन भएको छ। २०८३ असोज १९ गते (२०२६ अक्टोबर ५) का दिन दुवै पार्टीका तर्फबाट संयुक्त प्रेस वक्तव्य जारी गर्दै नयाँ पार्टी निर्माणको औपचारिक घोषणा गरिएको हो।नयाँ गठित पार्टीको पथप्रदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद रहने वक्तव्यमा जनाइएको छ।

अध्यक्ष वा महासचिव पद नराख्ने ऐतिहासिक निर्णय

विश्व कम्युनिस्ट आन्दोलनका सकारात्मक र नकारात्मक शिक्षाहरूको विश्लेषण र संश्लेषण गर्दै नयाँ पार्टीमा अध्यक्ष वा महासचिव जस्ता पदहरू नराख्ने निर्णय गरिएको छ। वक्तव्यमा भनिएको छ, “मार्क्स, एङ्गेल्स र लेनिन कहिल्यै पार्टीको अध्यक्ष वा महासचिव जस्ता पदहरूमा बस्नुभएन। सन् १९२२ मा लेनिनको प्रस्तावमा महासचिव पद सिर्जना गरी स्टालिनलाई बनाइए पनि पछि यसले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा र नकारात्मक भूमिका निर्वाह गर्‍यो।”

पार्टीको नेतृत्व सर्वहारा वर्गीय वैचारिक–राजनीतिक नेताहरूको समूहले गर्ने र कुनै एक व्यक्ति अध्यक्ष वा महासचिव नरहने नीति लिइएको छ।

क्रान्तिकारीहरूलाई एकता र ध्रुवीकरणको अपिल

विश्व परिस्थितिमा साम्राज्यवाद र दलाल/नौकरशाही पुँजीवादको तीव्र विकास भइरहेको उल्लेख गर्दै मालेमावादको रक्षा, प्रयोग र विकासविना क्रान्तिको नेतृत्व सम्भव नभएको ठहर गरिएको छ।

मार्क्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक मान्ने सबै कम्युनिस्ट पार्टी, समूह र व्यक्तित्वहरूलाई नयाँ तथा शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण र वैज्ञानिक समाजवादी क्रान्तिको अभियानमा एकजुट हुन अपिल गरिएको छ। साथै, बहुध्रुवीय अन्तर–साम्राज्यवादी युद्धको विशिष्ट स्थितिमा चौथो कम्युनिस्ट इन्टरनेसनल स्थापनाको दिशामा अघि बढ्न विश्वभरका क्रान्तिकारी कम्युनिस्टहरूसमक्ष आह्वान गरिएको छ।

जारी वक्तव्यमा नेकपा (बहुमत) का अध्यक्ष धर्मेन्द्र बास्तोला “कञ्चन” र नेकपा (जनपक्ष) का अध्यक्ष रवीन्द्र श्रेष्ठ (महिन्द्र मल्ल) ले हस्ताक्षर गर्नुभएको छ। दुवै नेताहरू नयाँ पार्टी नेकपा (नयाँ बहुमत) को केन्द्रीय समिति, पोलिटब्युरो तथा केन्द्रीय कार्यालय सदस्य रहनुभएको छ