नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशन प्रक्रियाबाट बाहिरिएका र निर्वाचनमा पराजित भएका नेताकार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका छन्।
मतदानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले कांग्रेसभित्रको असन्तुष्टि सम्बोधन गर्दै सबैलाई पार्टीमा उचित जिम्मेवारी दिने बताए। महाधिवेशनमा सहभागी नभएको देउवा समूहलाई लक्षित गर्दै उनले कांग्रेसभित्रैको असन्तुष्टि भए त्यसलाई समाधान गर्ने प्रयास गरिने स्पष्ट पारे।
थापाले चुनावमा हारजित हुनु स्वाभाविक भएको उल्लेख गर्दै पराजित भएकै कारण नेताहरूको राजनीतिक भूमिका बदलिन नहुने बताए। आफू पनि विगतमा निर्वाचनमा पराजित भएर पुनः ठूलो मतसहित निर्वाचित भएको अनुभव सुनाउँदै उनले सबै नेताकार्यकर्तालाई समेटेर पार्टी अघि बढाउने प्रतिबद्धता जनाए।




















