भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी गरेको छ। प्राधिकरणका अनुसार यससम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको छ।मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले बेपत्ता व्यक्तिलाई ‘मृत्यु’ वा ‘मृत्युसरह’ मान्ने गरी कानुन संशोधन भइसकेको जानकारी दिए।

उनका अनुसार डीएनए परीक्षणको नतिजा आएपछि प्रमाणीकरण प्रक्रिया थप सहज हुनेछ। यसको तयारी पनि अन्तिम चरणमा पुगेको उनले बताए । उप्रेतीले बाढीपीडितको राहत तथा उद्धारका काम जारी रहेको जानकारी दिँदै पुनर्निर्माणका लागि अस्थायी संरचना निर्माणको जिम्मेवारी पूर्वाधार मन्त्रालयले लिएको बताए।

त्यस्तै, मनसुनको अन्त्यतिर आएको बाढीबाट मनाङ, मुस्ताङ, म्याग्दी र पर्वतमा सडक तथा अन्य भौतिक संरचनामा भएको क्षतिलाई सम्बोधन गर्न ती क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरी काम अघि बढाइएको उनले जानकारी दिए।