सरकारले २ हजार युवालाई निःशुल्क एआई तालिम दिने

युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सरकारले २ हजार जनालाई निःशुल्क अनलाइन तालिम दिने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले आईएनजी ग्रुप र ज्ञान बजार अनलाइन प्रालिको सहकार्यमा तालिम सञ्चालन गर्न लागेको हो।

‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयमा सञ्चालन हुने तालिममा सहभागीलाई च्याटजीपीटी, क्लाउडलगायत एआई टुलको प्रयोग, प्रभावकारी प्रम्प्ट लेखन तथा एआईमार्फत इमेल, टिपोट, बैठकका निर्णय र प्रेजेन्टेसन तयार गर्ने सीप सिकाइनेछ।

त्यसैगरी, एआईको प्रयोगबाट तस्बिर तथा छोटा भिडियो निर्माण, जिम्मेवार प्रयोग र एआईबाट प्राप्त जानकारीको सत्यता परीक्षण गर्ने तरिकाबारे समेत प्रशिक्षण दिइनेछ।

तालिम कात्तिक १८ र १९ गते चारवटा सत्रमा सञ्चालन हुनेछ। बिहान १० देखि १२ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्म दैनिक दुई सत्र सञ्चालन गरिनेछ।प्रत्येक सत्रमा ५०० जनाका दरले कुल २ हजार युवालाई सहभागी गराइने राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले जनाएको छ। सहभागीले उपलब्ध चारमध्ये कुनै एक सत्रमा तालिम लिन सक्नेछन्।