दोस्रो काठमाडौं हरर फिल्म फेस्ट (KHFF) सम्पन्न

काठमाडौं, कात्तिक १६ — काठमाडौंस्थित रुसी सदनमा दोस्रो काठमाडौं हरर फिल्म फेस्ट (KHFF) सम्पन्न भएको छ। अक्टोबर ३० देखि नोभेम्बर १ सम्म सञ्चालन भएको महोत्सव नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले रुसी सदन, सिने मेकर्स नेपाल र आईएमई खल्तीको सहयोगमा आयोजना गरेको हो।महोत्सवमा नेपालसहित विभिन्न देशका हरर चलचित्र प्रदर्शन गरिएका थिए। तीन दिनसम्म चलेको महोत्सवमा दर्शकले रोमाञ्चक र त्रासदीपूर्ण दृश्यसहितका चलचित्रको अनुभव लिएका थिए।

नोभेम्बर १ मा आयोजित समापन समारोहमा सांस्कृतिक क्षेत्रका व्यक्तित्व, कूटनीतिज्ञ तथा चलचित्रकर्मीहरूको उपस्थिति थियो। समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति ब्रजेश खनाल प्रमुख अतिथि थिए। कार्यक्रममा नेपालका लागि रुसी दूतावासका उपप्रमुख तथा मन्त्री-काउन्सिलर रिन्चेन राखायेभ, पूर्वमन्त्री गणेश शाह, रुसी सदन काठमाडौंकी प्रमुख अनास्तासिया खोख्लोभा र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठक सहभागी थिए।

महोत्सव निर्देशक राशिक पाठकले KHFF 2026 का प्रतिस्पर्धात्मक नतिजा सार्वजनिक गरेका थिए। प्रतियोगितामा १८ वटा लघु चलचित्र र ६ वटा फिचर चलचित्र सहभागी थिए।दर्शकको मतदानका आधारमा उत्कृष्ट लघु चलचित्र: ‘KNAR’ (नेपाल), निर्देशक आकाश धिमाल।उत्कृष्ट फिचर चलचित्र: ‘In This Darkness I See You’ (फ्रान्स, लेबनान, कतार र साउदी अरेबिया), निर्देशक नादिम ताबेत उत्कृष्ट चलचित्र घोषित भएका छन्।

महोत्सवको विशेष आकर्षणका रूपमा रुसी चलचित्र ‘The Wind’ पनि प्रदर्शन गरिएको थियो। सर्गेई च्लियान्ट्सको निर्देशनमा बनेको उक्त चलचित्र प्योत्र लुत्सिक र अलेक्सी सामोरियादोभको पटकथामा आधारित छ। चलचित्र प्रदर्शनपछि दर्शकहरूले लामो समयसम्म त्यसबारे छलफल गरेका थिए।

समापन समारोहमा रुसी सदन काठमाडौंकी प्रमुख अनास्तासिया खोख्लोभाले महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्। उनले हरर चलचित्र निर्माणमा संलग्न चलचित्रकर्मी र यस विधाप्रति आकर्षित युवा प्रतिभालाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताइन्।उनले गत वर्ष आयोजित पहिलो संस्करणको तुलनामा यस वर्षको महोत्सवमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै तेस्रो संस्करण अझ उत्कृष्टर प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

नेपालको पहिलो हरर फिल्म फेस्टिभलका रूपमा सन् २०२५ मा सुरु भएको KHFF ले अन्तर्राष्ट्रिय हरर चलचित्र र सिर्जनात्मक चलचित्रकर्मीलाई काठमाडौंमा जोड्ने महत्वपूर्ण मञ्चका रूपमा आफूलाई स्थापित गर्दै गएको आयोजकले जनाएको छ।

यस वर्षको महोत्सवमा नेपालसहित इजिप्ट, फ्रान्स, जर्मनी, साउदी अरेबिया, ट्युनिसिया, लेबनान र कतारका चलचित्र प्रदर्शन गरिएका थिए। महोत्सवले परम्परागत डरका कथासँगै सामाजिक चिन्ता र वास्तविक जीवनका पीडालाई समेट्ने हरर चलचित्रलाई समेत प्राथमिकता दिएको छ। आयोजकले आगामी वर्ष पनि विश्वभरका चलचित्रकर्मी र दर्शकलाई काठमाडौंमा जोड्दै महोत्सवलाई निरन्तरता दिने अपेक्षा गरेको छ।