बहुआयामिक कृषि सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न,

सदस्यलाई स्वास्थ्य बीमा, छात्रवृत्ति र आकस्मिक आर्थिक सहायता दिने योजना

काठमाडौं । बहुआयामिक कृषि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा २०८३ कार्तिक २१ गते शनिबार काठमाडौंको स्वयम्भूस्थित एक पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका सल्लाहकार डा. पूर्णप्रसाद मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, लेखापरीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।

साधारणसभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष ध्रुवप्रसाद खनालले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रका तीन खम्बामध्ये एक महत्वपूर्ण खम्बा भए पनि केही ठूला सहकारी संस्थामा देखिएका अनियमितताका कारण समग्र सहकारी क्षेत्र बदनाम हुन पुगेको बताउनुभयो। उहाँले सहकारी ऐन, सहकारीका सात सिद्धान्त तथा विश्वव्यापी मूल्य–मान्यताविपरीत राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थका आधारमा सञ्चालित केही संस्थाका कारण समस्या सिर्जना भएको उल्लेख गर्नुभयो।

सहकारी क्षेत्रका सकारात्मक पक्षलाई संरक्षण गर्दै संस्थागत सुशासन, पारदर्शिता र सदस्यको हितलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो। राजनीतिक अस्थिरता, आर्थिक मन्दी, मूल्यवृद्धि, बेरोजगारी, युवाशक्तिको विदेश पलायन तथा उद्योग–व्यवसायमा आएको गिरावटले अर्थतन्त्र प्रभावित भइरहेका बेला समाजमा छरिएर रहेको सानो पुँजीलाई एकत्रित गरी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सहकारी महत्वपूर्ण माध्यम बन्न सक्ने उहाँको भनाइ थियो।

शेयर पुँजी ४ करोड पुर्‍याउने लक्ष्य

संस्थाले आगामी दिनमा शेयर पुँजी ४ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ। १८औँ वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा शेयर खरिद प्रोत्साहन, नियमित बचत वृद्धि, सदस्यहरूको आर्थिक तथा सामाजिक सुरक्षा, व्यावसायिक लगानी विस्तार र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ।

संस्थाका अध्यक्ष ध्रुवप्रसाद खनालले सदस्यहरूको आर्थिक अवस्था सुदृढ बनाउँदै सहकारीलाई थप सबल, पारदर्शी र आत्मनिर्भर बनाउने योजनासहित कार्यक्रम अघि बढाइएको बताउनुभयो।

कर्जा लगानी २०.०६ प्रतिशतले वृद्धि, ३३ करोडभन्दा बढी लगानी

संस्थाको आर्थिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा कर्जा लगानी २०.०६ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म संस्थाको कुल कर्जा लगानी ३३ करोड ३ लाख ५५ हजार २११ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको कुल आम्दानी ४ करोड ५९ लाख २ हजार १२३ रुपैयाँ ६१ पैसा रहेकोमा आर्थिक वर्ष २०८२/०८३ मा बढेर ५ करोड ३४ लाख १० हजार ९४१ रुपैयाँ ७९ पैसा पुगेको छ।

आर्थिक वर्ष २०८२/०८३ मा बैंकमा निक्षेप राखेबापत ब्याज आम्दानी ७ लाख ६२ हजार ६३९ रुपैयाँ ५९ पैसा र कर्जा लगानीबाट प्राप्त ब्याज ४ करोड ७४ लाख ७६ हजार ८६ रुपैयाँ रहेको छ। त्यस्तै, कर्जा फाराम, सदस्य शुल्क, संस्था विकास शुल्क, विलम्ब शुल्क, जरिवाना, रेमिट्यान्स, खाताबन्दी शुल्क तथा कर्जा मूल्याङ्कनलगायत अन्य शीर्षकबाट ५१ लाख ७२ हजार २१६ रुपैयाँ २० पैसा आम्दानी भएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको कुल खर्च ३ करोड ५८ लाख ८२ हजार ५५० रुपैयाँ ८६ पैसा रहेको थियो। आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म बचतमा ब्याज खर्च २ करोड ६६ लाख २७ हजार ७५२ रुपैयाँ ५० पैसा, बाह्य ऋणको ब्याज खर्च ४० लाख ५४ हजार ५१६ रुपैयाँ ८६ पैसा र कर्मचारी तलबमा ४५ लाख ४ हजार ६९१ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

बाह्य कर्जा 

संस्थाको बाह्य कर्जा आर्थिक वर्ष २०८१/०८२ मा ६ करोड २२ लाख ६४ हजार ८४५ रुपैयाँ १४ पैसा रहेको थियो। आर्थिक वर्ष २०८२/०८३ मा थप कर्जा प्राप्त भएपछि यो रकम ७ करोड ३० लाख ६४ हजार ८४५ रुपैयाँ १४ पैसा पुगेको थियो।

यस अवधिमा राष्ट्रिय सहकारी बैंकबाट २५ लाख रुपैयाँ सुनौलो कर्जा, ४५ लाख रुपैयाँ आवधिक बचत कर्जा तथा युवा स्वरोजगार कोषबाट ३८ लाख रुपैयाँ थप कर्जा प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।

कर्जा भुक्तानीतर्फ राष्ट्रिय सहकारी बैंकको सर्टटर्म व्यावसायिक कर्जाबापत २० लाख ८६ हजार ३७ रुपैयाँ १४ पैसा, किस्ताबन्दी कर्जाबापत ७ लाख ६८ हजार ७९३ रुपैयाँ, सुनौलो कर्जाबापत ७४ हजार ६०६ रुपैयाँ र युवा स्वरोजगार कर्जाबापत २७ लाख ८३ हजार ४८३ रुपैयाँ भुक्तानी गरिएको छ। त्यसैगरी, नेफ्स्कुनको कर्जाबापत ७० लाख रुपैयाँ भुक्तानी गरिएको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ को सालतमामीसम्म १ करोड २७ लाख १२ हजार ९१९ रुपैयाँ १४ पैसा कर्जा भुक्तानी गरिएको थियो। समीक्षा अवधिमा थप भुक्तानी भएपछि बाँकी बाह्य कर्जा ५ करोड ९३ लाख ५८ हजार ७०८ रुपैयाँ रहेको जनाइएको छ।

शेयर लगानी १६ लाखभन्दा बढी, कुल कोष ४ करोड ३६ लाख रुपैयाँ

संस्थाले विभिन्न सहकारी संघसंस्थामा गरेको कुल शेयर लगानी १६ लाख ३२ हजार ४०० रुपैयाँ पुगेको छ। यसमध्ये राष्ट्रिय सहकारी बैंकमा ११ लाख रुपैयाँ, नेफ्स्कुनमा ५ लाख १२ हजार ४०० रुपैयाँ, जिल्ला सहकारी संघमा ५ हजार रुपैयाँ, कास्कुनमा १० हजार रुपैयाँ र बागमती प्रदेश सहकारी संघमा ५ हजार रुपैयाँ शेयर लगानी रहेको छ।

त्यसैगरी, संस्थाको जगेडा कोषमा २ करोड ३० लाख ७९ हजार ४३३ रुपैयाँ ३० पैसा र अन्य कोषमा २ करोड ५ लाख ७४ हजार १९४ रुपैयाँ ७ पैसा रहेको छ। यसरी संस्थाको कुल कोष रकम ४ करोड ३६ लाख ५३ हजार ६२७ रुपैयाँ ३७ पैसा पुगेको छ।

आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म संस्थाको बैंक मौज्दात ७ करोड ४३ लाख ५३ हजार ७५५ रुपैयाँ ३३ पैसा र नगद मौज्दात ११ लाख ७६ हजार ५५५ रुपैयाँ ५ पैसा रहेको छ। संस्थाको तरलता अनुपात १६.१६ प्रतिशत र कुल चालु दायित्व अर्थात् बचतको तुलनामा तरलता अनुपात २४.०७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

सरकारलाई ३० लाख ५१ हजार रुपैयाँभन्दा बढी कर दाखिला

संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न शीर्षकमा गरी कुल ३० लाख ५१ हजार ३४७ रुपैयाँ ९३ पैसा कर दाखिला गरेको छ।

यसअन्तर्गत ब्याजकर (टीडीएस) १६ लाख १२ हजार ४०३ रुपैयाँ, कर्मचारी तलब तथा बोनस कर ५५ हजार ४०२ रुपैयाँ, शेयर लाभांश कर १ लाख ६९ हजार ८१० रुपैयाँ, पुँजी फिर्ता कोषको कर ८६ हजार २२८ रुपैयाँ, बैठक भत्ता कर ५४ हजार ६४५ रुपैयाँ, कमिसन तथा आपूर्ति कर १५ हजार ७१३ रुपैयाँ, घरभाडा कर ३३ हजार रुपैयाँ र लेखापरीक्षण शुल्क कर ८ हजार २५० रुपैयाँ रहेको छ।

३ हजार ३८५ सदस्यलाई कर्जा, ३ हजार १५१ जनालाई व्यवसायमा सहयोग

२०६५ सालमा ५१ जना सदस्यबाट स्थापना भएको संस्थामा हाल १ हजार ७०० भन्दा बढी शेयर सदस्य रहेका छन्। संस्थाले स्थापनाकालदेखि कृषि व्यवसाय, शिक्षा, बचत तथा ऋणलगायतका क्षेत्रमा काम गर्दै आएको जनाएको छ।

प्रतिवेदनअनुसार स्थापनादेखि हालसम्म ३ हजार ३८५ जना सदस्यलाई विभिन्न शीर्षकमा कर्जा लगानी गरिएको छ भने ३ हजार १५१ जना सदस्यलाई व्यवसायमा संलग्न हुन सहयोग पुर्‍याइएको छ।

महिला तथा लघुवित्त कार्यक्रमअन्तर्गत १५ वटा समूहमा आबद्ध १२१ जनाभन्दा बढी महिलालाई विभिन्न आयआर्जन तथा सीपमूलक व्यवसायमा संलग्न गराई उद्यमी बनाउने काम गरिएको संस्थाले जनाएको छ।

प्राकृतिक प्रकोप, महाभूकम्प तथा कोरोना महामारीका कठिन परिस्थितिमा समेत सदस्यहरूलाई राहत तथा सहयोग उपलब्ध गराउँदै संस्थाले आर्थिक कारोबारलाई निरन्तरता दिएको जनाएको छ।

सदस्यलाई स्वास्थ्य बीमा, छात्रवृत्ति र आकस्मिक आर्थिक सहायता

संस्थाले आर्थिक वर्ष २०८३/०८४ का लागि सदस्यहरूको सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिने भएको छ। नीति तथा कार्यक्रमअनुसार ३५ हजार रुपैयाँभन्दा बढी शेयर खरिद गर्ने सदस्यको ५० हजार रुपैयाँ बराबरको वार्षिक स्वास्थ्य बीमा संस्थाले गरिदिनेछ। त्यस्तै, ३ लाख रुपैयाँभन्दा बढी शेयर खरिद गर्ने सदस्यको १ लाख रुपैयाँ बराबरको वार्षिक स्वास्थ्य बीमा गरिनेछ।

आवधिक जीवन बीमा, व्यवसाय बीमा, खेती बीमा तथा पशुपन्छी बीमाका कार्यक्रमलाई समेत निरन्तरता दिइनेछ।

संस्थाले विगतदेखि सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रमअन्तर्गत हालसम्म १८ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकेको जनाएको छ। आगामी दिनमा सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै ज्येष्ठ नागरिक, एकल महिला, उत्कृष्ट महिला समूह र विद्यालयलाई सम्मान गर्ने कार्यक्रम अघि सारिएको छ।

त्यसैगरी, सदस्य आकस्मिक कोषलाई निरन्तरता दिँदै सदस्य प्रवेश शुल्क, ऋण लिँदाको सामान्य शुल्क तथा आर्थिक वर्षको अन्त्यमा हुने नाफाबाट ०.५ प्रतिशत रकम कोषमा जम्मा गरिनेछ। उक्त कोषबाट भवितव्यमा परेका सदस्यलाई ५ हजारदेखि १५ हजार रुपैयाँसम्म आर्थिक अनुदान उपलब्ध गराइनेछ। साथै, बढीमा ६ महिनाका लागि ५० हजार रुपैयाँसम्म निव्र्याजी सापटी दिने व्यवस्था गरिएको छ।

यस्तो सुविधा लिन सदस्यले अनिवार्य मासिक बचत गरेको र न्यूनतम ३५ हजार रुपैयाँ शेयर पुँजी कायम गरेको हुनुपर्नेछ।

नियमित बचतमा जोड, ऋण भुक्तानी गर्ने सदस्यलाई ५० प्रतिशत छुट

संस्थाले सदस्यहरूमा नियमित बचत गर्ने बानी विकास गर्न सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीका लागि मासिक १ हजार रुपैयाँ र साधारण सदस्यका लागि मासिक ५०० रुपैयाँ बचत अनिवार्य गर्ने नीति अघि सारेको छ।

नियमित बचत नगर्ने सदस्यलाई ५ प्रतिशत जरिवाना लगाउनुका साथै संस्थाबाट प्रदान गरिने सेवा तथा सुविधामा समावेश नगरिने प्रस्ताव गरिएको छ।

त्यसैगरी, २०८३ साल पुस मसान्तसम्म ऋण भुक्तानी गर्ने सदस्यलाई विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने प्रस्ताव साधारणसभामा प्रस्तुत गरिएको छ।

संस्थाले ५ लाख रुपैयाँभन्दा बढीको धितो ऋण लगानी गर्दा प्राविधिक मूल्याङ्कन अनिवार्य गर्ने जनाएको छ। बचतमा दिने ब्याज र ऋणमा लिने ब्याजबीचको अन्तर अधिकतम ५.५ प्रतिशत कायम गर्ने नीति पनि अघि सारिएको छ।

प्रविधिमैत्री सेवा र व्यावसायिक लगानी विस्तार गरिने

संस्थाले वित्तीय कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन चार खाता प्रणालीसहितको डे–इन्ड सफ्टवेयर प्रयोग गर्ने तथा सहकारी विभागको कोपोमिस प्रणालीमा अभिलेख राख्ने कार्यलाई निरन्तरता दिने जनाएको छ।

आर्थिक वर्ष २०७९/०८० देखि सञ्चालनमा रहेको बहुआयामिक मोफिन एपमार्फत मोबाइल बैंकिङ, एसएमएस सेवा तथा क्यूआर कोड सुविधालाई थप प्रभावकारी बनाइनेछ। सदस्य बडापत्रलाई डिजिटलाइज गरी एकीकृत मोबाइल एप विकास गर्ने तथा राष्ट्रिय सहकारी बैंकको कोप कार्ड प्रयोगमा ल्याउने योजना पनि अघि सारिएको छ।

मनी ट्रान्सफर, हुलास रेमिट (वेस्टर्न) तथा आईएमई पे सेवासमेत निरन्तर सञ्चालन गरिने संस्थाले जनाएको छ।

कर्मचारीको भविष्य सुरक्षित गर्न कर्मचारीको तलबबाट १० प्रतिशत कट्टा गरी संस्थाले थप १० प्रतिशत योगदान गर्ने व्यवस्था कायम राखिनेछ। यसरी कुल २० प्रतिशत रकम कर्मचारी सञ्चय कोषमा जम्मा गरिनेछ। साथै, आर्थिक वर्ष २०८३/०८४ देखि सामाजिक सुरक्षा कोषमा समेत रकम जम्मा गर्ने नीति लिइएको छ।

संस्थाले कृषि व्यवसाय सञ्चालन, सदस्यको मागअनुसार कार्यक्षेत्र विस्तार तथा औचित्यका आधारमा अन्य सहकारी संस्थासँग एकीकरण गर्ने नीति अघि सारेको छ। पेस्की रकम १५ देखि ६० दिनभित्र फछ्र्योट नगरेमा प्रचलित सहकारी ऐन तथा नियमावलीअनुसार उक्त रकमलाई ऋणमा परिणत गरी साँवा र ब्याज असुल गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

महिला उद्यमशीलता र सामाजिक उत्तरदायित्वलाई निरन्तरता

संस्थाले बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग, विपन्न वर्गका छोराछोरीलाई छात्रवृत्ति, विभिन्न सहकारी तथा निजी विद्यालयमा शैक्षिक सहयोग, ज्येष्ठ नागरिक तथा एकल महिला सम्मानलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सदस्यहरूको आर्थिक तथा व्यावसायिक विकासलाई केन्द्रमा राख्दै आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने संस्थाले जनाएको छ। प्रत्येक वर्ष माघ २५ गते मनाइने स्थापना दिवसलाई साताव्यापी सामाजिक कार्यक्रमका रूपमा सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।

पदाधिकारी तथा उपसमितिका सदस्यहरूको उपस्थिति

साधारणसभामा संस्थाका सल्लाहकार समितिका डा. पूर्णप्रसाद मानन्धर, वीरेन्द्रबहादुर सिंह, शुकदेव घिमिरे, रविप्रसाद खनाल, दुर्गाप्रसाद गौतम र अनिल शाहीको सहभागी रहेको थियो।

सञ्चालक समितिका अध्यक्ष ध्रुवप्रसाद खनाल, उपाध्यक्ष राजेश बुढाथोकी, उपाध्यक्ष बवीता आले, सचिव सुशील के.सी. र कोषाध्यक्ष राजेश कार्की सहभागी हुनुहुन्थ्यो। त्यस्तै, सञ्चालक समिति सदस्यहरू राजकृष्ण तण्डुकार, बाबुराजा महर्जन, विक्रम शाही ठकुरी, राजु के.सी., पूर्णदेवी श्रेष्ठ र जीना श्रेष्ठ तथा आमन्त्रित सदस्य हरिबोल पौडेलको सहभागिता रहेको थियो।

लेखा सुपरिवेक्षण समितिका संयोजक ट्याम सिंह लामा तथा सदस्यहरू विनोद शापा र कमलप्रसाद सापकोटाको उपस्थिति रहेको थियो।

त्यसैगरी, ऋण उपसमितिका संयोजक बाबुराजा महर्जन तथा सदस्यहरू सूर्यबहादुर सुवेदी र श्रीधर सिंह, महिला उपसमितिका संयोजक मीरा कुँवर तथा सदस्यहरू कल्पना बरोल र सिजन श्रेष्ठ सहभागी हुनुहुन्थ्यो।

ऋण असुली उपसमितिका संयोजक दीपकप्रसाद खनाल तथा सदस्यहरू यादव खनाल र हरिनारायण महर्जनको पनि सहभागिता रहेको थियो। शिक्षा तथा योजना उपसमितिका संयोजक राममणि आचार्य तथा सदस्यहरू कमलप्रसाद खनाल र प्रदीप खनालको उपस्थिति रहेको थियो।

कार्यक्रममा व्यवस्थापक अमिता लम्सालसहित व्यवस्थापन समूह तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कर्मचारीतर्फ लेखापाल शर्मिला बुढाथोकी, अधिकृत विद्या के.सी., आईटी सहायक निरज कँडेल, बजार प्रतिनिधिहरू मोहनमणि दाहाल, निरु रानामगर र साजन बस्नेत तथा कार्यालय सहयोगी ईश्वरी कार्की सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा ज्येष्ठ सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो। संस्थाका सल्लाहकार नवीन शाहीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

साधारणसभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८३/०८४ को बजेट, विनियम संशोधन, शेयर रकम वृद्धि तथा विभिन्न आन्तरिक कार्यविधिसम्बन्धी प्रस्ताव सदस्यसमक्ष प्रस्तुत गरिएको थियो।

अन्त्यमा अध्यक्ष खनालले संस्थालाई थप सबल, पारदर्शी र आत्मनिर्भर बनाउन सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सदस्यहरूलाई शेयरधनीमा मात्र सीमित नभई संस्थाको व्यावसायिक विकासमा समेत सहयोगी बन्न आग्रह गर्नुभयो।