नुवाकोट । नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । जिल्लाको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक धादिङ खनियाबास गाउँपालिका–५ घर भई हाल जिल्ला नुवाकोट विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ, नुवाकोटको विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापामगर र सोही स्थान बस्ने २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान १०: ५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
















