कांग्रेसमा पूर्णबहादुर खड्का र शेखर कोइरालाका लागि छुट्टाछुट्टै कार्यकक्ष

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनमा सहभागी नभएका पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाका लागि पार्टी कार्यालयमा छुट्टाछुट्टै कार्यकक्षको व्यवस्था गरेको छ ।

सभापति गगनकुमार थापाको निर्देशनमा सानेपास्थित पार्टी कार्यालयमा वरिष्ठ नेताका रूपमा प्रयोग गर्न मिल्ने गरी दुईवटा कोठा छुट्याइएको हो । यसअघि ती कोठा सहमहामन्त्रीहरूले प्रयोग गर्दै आएका थिए । नयाँ व्यवस्थाअनुसार सहमहामन्त्रीहरूका लागि पुस्तकालय रहेको हलमा कार्यकक्ष बनाइएको छ ।

यद्यपि, उपसभापति मधु आचार्यले कार्यकक्ष तयार भइनसकेको बताउँदै दुवै नेताका लागि ठाउँ व्यवस्थापन गर्न पार्टी तयार रहेको बताएका छन् । उनका अनुसार खड्का र कोइरालासँग पार्टी एकता कायम राख्ने विषयमा संवादसमेत भइरहेको छ ।