धनुषाको शहीदनगर नगरपालिका–२, मतौनास्थित धनी पोखरीमा छठघाटको रेखदेख गर्न बसेका ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्थानीय रामजतन यादव पोखरीमा छठघाट निर्माण गरी एक्लै रेखदेख गर्न बसेको थियो ।
उनी आज बिहान ६:०० बजे मृत अवस्थामा फेला परेको थियो । मृतक यादवको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले काटेको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको कमान्डमा कुकुरसहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाएको छ । घटनास्थल नजिकै पोखरीको पानीमा पराल काट्ने दाउ समेत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाको कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


















