इमरान खानको भावुक पत्रः जेलबाट जीवित फर्किन मुस्किल छ

जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न अपिल गरेका छन् ।

उनले आफूलाई मस्तिष्काघात र हृदयाघातको गम्भीर जोखिम रहेको दाबी गरेका छन्।उनका वकिल सलमान सफदरले सार्वजनिक गरेको पत्रमा इमरान खानले लेखेका छन्, ‘७४ वर्षको उमेरमा यो निर्दयी सत्ताले मलाई यस्तो अवस्थामा पुर्‍याउँदै छ, जहाँबाट सायद म जीवित फर्कन सक्ने छैन ।’

इमरान खानले पत्रमा चिकित्सकहरूले आफूलाई मस्तिष्काघात र हृदयाघातको गम्भीर जोखिम रहेको बताएको दाबी गरेका छन् । उनका अनुसार उनको मुटुमा यसअघि नै क्षति पुगिसकेको छ ।पछिल्लो एक वर्षमा इमरान खानको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता बढेको छ ।

उनका परिवारका सदस्यहरूले जेल प्रशासनले समयमै कदम नचालेका कारण उनको दाहिने आँखाको अधिकांश ज्योति गुमेको आरोप लगाएका छन् ।

खानले आफूलाई दैनिक २२ घण्टासम्म एक्लै राख्ने गरिएको र परिवारका सदस्यसँग भेटघाट गर्नसमेत नदिइएको बताएका छन् । पुस्तक पढ्न र टेलिभिजन हेर्नसमेत नपाएको उनको भनाइ छ । यसले आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको उनले उल्लेख गरेका छन् ।