‘प्रकृतिलाई बुझेर गरिने विकास मात्र सुरक्षित र दिगो हुन्छ ।’ सभामुख डोलप्रसाद अर्याल

 

३ मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले हिमालय क्षेत्रको भूगर्भीय अध्ययन, वैज्ञानिक अनुसन्धान र विपद् जोखिम न्यूनीकरणलाई राष्ट्रिय विकास तथा नीतिनिर्माणसँग जोड्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित १२औँ नेपाल जियोलोजिकल कंग्रेसलाई सम्बोधन गर्दै अर्यालले नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट र भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको बताए ।

प्राकृतिक विपद् पूर्ण रूपमा रोक्न नसकिए पनि वैज्ञानिक अनुसन्धान, पूर्वतयारी, जोखिम पहिचान र प्रभावकारी नीतिमार्फत त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो । यसका लागि भूविज्ञानको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए ।

सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा भूगर्भीय अध्ययन र जोखिम मूल्यांकनलाई प्राथमिकता दिनुपर्ने अर्यालले बताए । विकासको गति र सुरक्षित भविष्यबीच सन्तुलन कायम गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित नीतिनिर्माणमार्फत स्वच्छ वातावरणको हक तथा प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी संवैधानिक प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

‘हिमालय हाम्रो प्राकृतिक गौरव मात्र होइन, पृथ्वीको विकासक्रम, भौगर्भिक गतिविधि र जलवायु परिवर्तनको अध्ययनका लागि विश्वकै महत्त्वपूर्ण प्राकृतिक प्रयोगशाला पनि हो,’ उनले भने, ‘प्रकृतिलाई बुझेर गरिने विकास मात्र सुरक्षित र दिगो हुन्छ ।’