प्रधानमन्त्रीको भारत भ्रमण टोलीबाट ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको नाम हटाइयो

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डलको सूचीबाट ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको नाम हटाइएको छ। भ्रमणको तयारी गरिरहेको परराष्ट्र मन्त्रालयले बुधबार मन्त्री श्रेष्ठको नाम सूचीबाट हटाएको स्रोतले जनाएको छ । यसअघि मन्त्री श्रेष्ठलाई भ्रमणमा सहभागी हुन आवश्यक तयारी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खबर गरिएको थियो ।

बुधबार दिउँसो परराष्ट्र मन्त्रालयले उनको पासपोर्ट, फोटोसहितका व्यक्तिगत विवरणसमेत मागेको थियो।तर, साँझ एकाएक उनको नाम प्रतिनिधिमण्डलको सूचीबाट हटाइएको स्रोतको भनाइ छ।

मन्त्री श्रेष्ठ भारत भ्रमणमा सहभागी हुने भएपछि मंगलबार मात्रै नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले उनीसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा भएको सो भेट आफैँमा महत्वपूर्ण मानिएको थियो ।