नेपालको विपद्पछिको पुनर्निर्माणमा सक्रिय सहयोग गर्ने चीनको प्रतिबद्धता

चीनले बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माण तथा प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन नेपाललाई सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार पत्रकार सम्मेलनमा नेपाललाई पुनर्निर्माणमा सघाउने बताएका हुन्।

उनले यसअघि उपलब्ध गराइएको आपत्कालीन सहायताबाहेक घर पुनर्निर्माण, जीविकोपार्जन र विपद् जोखिम न्यूनीकरणमा समेत सहयोग गर्ने बताए। चीनले यसअघि नेपाललाई नगद सहायता र पाँच खेप राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार तथा पहिचान कार्यका लागि २० भन्दा बढी विज्ञ पठाएको थियो। मौसम, जल तथा भूगर्भसम्बन्धी तथ्याङ्क आदानप्रदानलाई पनि निरन्तरता दिएको चीनले जनाएको छ।