मरिन आयोजना रद्दबारे छलफल गर्न प्रधानमन्त्री कार्यालय गएको महानिर्देशकद्वारा स्वीकार

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले मरिन डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री कार्यालय गएको स्वीकार गरेका छन्। तर, प्रधानमन्त्री कार्यालयबाट कुनै हस्तक्षेप नभएको उनको दाबी छ।

मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद खुस्बु ओलीले यसबारे प्रश्न उठाएपछि रजौरियाले आफू प्रधानमन्त्री कार्यालय गएको पुष्टि गरेका हुन्। ‘प्रधानमन्त्री कार्यालय गएको हुँ, तर कुनै हस्तक्षेप अनुभूति गरेको होइन,’ उनले जवाफ दिएका थिए।