‘एमाले जनताको भरोसायोग्य पार्टी बन्नेछ’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जित्दै एमालेलाई पुन :जनताको भरोसायोग्य पार्टी बनाउने बताएको छ । नेकपा (एमाले) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढाउने बताएको हो । एउटा निर्वाचनमा पार्टी पराजित हुँदैमा एमालेको राजनीतिक भविष्य समाप्त नहुने उल्लेख गर्दै उनले निराश नभई पार्टी सुदृढीकरणमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

“एउटा निर्वाचनमा एमाले पराजित भयो भन्दैमा एमालेको भविष्य सकिएको छैन । पार्टीलाई अझ सशक्त र बलियो बनाएर लैजान्छौँ”, उनले भने, “एमालेलाई जनताको भरोसायोग्य पार्टी बनाउँछौँ । पार्टीसँग रिसाएका जनता र कार्यकर्तालाई फर्काउँछौँ ।” महासचिव पोखरेलले निर्वाचनको परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने बताए । पार्टीप्रति जनताको विश्वास पुन: स्थापित गर्न नेता तथा कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

पार्टीका सचिव खगराज अधिकारीले पार्टीभित्र गुटबन्दी स्वीकार्य नहुने बताए। पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिँदै उनले गुटगत गतिविधिभन्दा सङ्गठनको हितलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

पार्टीकी केन्द्रीय सदस्य भगवती न्यौपानेले निर्वाचनको परिणामबाट विचलित नभई नेता तथा कार्यकर्तालाई पार्टी सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे । निर्वाचनको परिणामबाट निराश नभई पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउन सबैले सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।