माल्दिभ्ससँगको कूटनीतिक विवादमा जयशंकरले भने, छिमेकीहरूलाई एकअर्काको आवश्यकता छ । माल्दिभ्सका राजनीतिज्ञहरूले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणी पोष्ट गरेपछि सुरु भएको कूटनीतिक विवादको बीचमा विदेशमन्त्री एस जयशंकरले छिमेकीहरूलाई एकअर्काको आवश्यकता भएको बताएका हुन् ।
उक्त टिप्पणी जयशंकरले आईआईएमको एक अन्तरक्रिया कार्यक्रममा व्यक्त गरेका हुन् । ‘इतिहास र भूगोल धेरै शक्तिशाली शक्तिहरू हुन्, यसबाट कुनै उम्कन छैन्’, उनले भने । भारत र माल्टिभ्सबीच कुटनैतिक युद्ध चलेको यस परिपे्रक्ष्यमा जयशंकरको उक्त भनाईलाई कुटनैतिक वृत्तमा अर्थपूर्ण मानिएको छ ।
यसअघि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले भारत सरकारलाई माल्दिभ्सबाट आफ्ना सैनिकहरूलाई मार्च १५ वा यसअघि फिर्ता गर्न आग्रह गरेका थिए । यो कूटनीतिक विवाद माल्दिभ्सको ‘भारत आउट’ अभियानको एक हिस्सा थियो । चीन समर्थक मानिने राष्ट्रपति मुइज्जुले यस टापु राष्ट्रमा अघिल्लो शासनकालमा भारतसँग भएका द्विपक्षीय सम्झौताको समीक्षा गर्दै आएका छन् ।
यसैबीच, विपक्षी दल माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी)ले मोहम्मद मुइज्जु सरकारविरुद्ध महाभियोगको प्रक्रिया सुरु गर्न अविश्वासको प्रस्ताव ल्याउन आवश्यक हस्ताक्षर संकलन गरेको छ । माल्दिभ्सको संसदमा छिट्टै महाभियोग प्रस्ताव पेश हुने सम्भावना छ ।

















