skip this वडा नं १६ बालाजु च:मती

अन्तर्राष्ट्रिय ब्रान्ड अजाया र अल अली ग्रुपबीच व्यवसायिक साझेदारी

डायमन्ड हिराको अन्तर्राष्ट्रिय ब्रान्ड अजाया र नेपाल र दुबईको अल अली ग्रुपले व्यवसायिक साझेदारी गरेका छन् । अजाया ब्रान्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले दुईबीच मंगलबार सम्झौतामा हस्ताक्षर भएको हो ।

अल अली ग्रुपका कार्यकारी अध्यक्ष याकुब अल अली र अजाया नेपालका राकेशकुमार अडुकियाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यो समझदारीले विज्ञता र लगानीलाई एकै ठाउँमा ल्याएको हुँदा अजायाले छोटो समयमै विश्व बजारमा पहिचान बनाउने अपेक्षा गरिएको जनाइएको छ । अजायाका अडुकिया भन्छन्, ‘अजाया हामीले डायमन्डमा हासिल गरेको विशेषज्ञताका आधारमा अघि बढाइएको ब्रान्ड हो । यसलाई नेपालमा मात्रै नभएर विश्व बजारमै स्थापित गर्ने लक्ष्य छ । अल अली ग्रुपसँगको साझेदारीले लगानी र विशेषज्ञतालाई एकै ठाउँमा ल्याउने काम गरेकाले यो नेपाली ब्रान्ड छोटो समयमै विश्व बजारमा स्थापित हुनेछ ।’

त्यस्तै, अल अली ग्रुपका कार्यकारी अध्यक्ष याकुब अल अलीले पर्यटन क्षेत्रमा लगानी गर्ने आफ्नो समूहको चाहनालाई मूर्तरुप दिन यो समझदारी कोसेढुंगा सावित हुने बताएका छन् ।