skip this वडा नं १६ बालाजु च:मती

भाइरल ज्वरोबाट एकै गाउँका १३० बिरामी, एकको मृत्यु

मकवानपुरको एकै गाउँमा भारइल ज्वरोका कारण १३० जना बिरामी भएका छन् भने एक जनाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका–९, टर्लिङमा पाँच दिनअघिदेखि फैलिएको भाइरल ज्वरोबाट एकजनाको मृत्यु भएको हो । त्यस्तै, सोमबार साँझसम्म टर्लिङ गाउँका १३० स्थानीयमा भाइरल ज्वरो देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

ज्वरोका कारण गएको शुक्रबार टर्लिङका ६० वर्षीय टिकाबहादुर नगरकोटीको मृत्यु भएको छ । उनको नगरकोटीको खैराङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । एकै गाउँमा ठूलो संख्यामा भाइरल ज्वरो फैलिएपछि चिकित्सकसहित राक्सिराङ गाउँपालिका कार्यालयबाट स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।

बिरामी हुनेमा बालबालिकादेखि सबै उमेरका स्थानीय छन् । बिरामीमा ज्वरो आउने, वाकवाकी लाग्ने, रुघाखोकी तथा छाती दु:ख्ने लक्षण देखिएका छन् । दूषित पानीका कारण भाइरल ज्वरो फैलिएको हुन सक्ने स्वास्थ्य कार्यालयको अनुमान छ ।