skip this वडा नं १६ बालाजु च:मती

कपिलवस्तु बस दुर्घटना: घाइते भन्छन् पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो

‘राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो’, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाइन् । उनी छोरीसँगै काठमाडौँ जान बुधबार दिउँसो साढे दुई बजे महेन्द्रनगरबाट छुटेको गाडी चढेकी थिइन् ।

सुनौलो महाकाली यातायातको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटना हुँदा उनी घाइते भइ हाल अस्पतालमा उपचाररत छिन् । सो दुर्घटनामा परी सात पुरुष र तीन महिला गरी १० जनाको मृत्यु भयो भने ३० जना यात्रु घाइते भए ।

‘दुर्घटनापछि यात्रुहरु बचाउबचाउ भन्दै गरेको आवाज दिइरहेको सुनेपछि मैले पनि आवाज दिए । त्यसपछि दुई जनाले उद्धार गर्नुभयो’, भीमदत्त नगरपालिका–१६ घर भएकी थापाले सुनाइन्, ‘रातिको समय, जङ्गल र पहाडको खोँचमा फोन पनि नलाग्ने भएकाले उद्धार तत्कालै हुन पाएन । अँध्यारोमा जो बोल्छ आवाज सुनेर उद्धारकर्ताले सुरुमा उनीहरुलाई नै उद्धार गरे जस्तो लाग्यो ।’

सोही बसमा सवार कञ्चनपुर महेन्द्रनगरका ज्ञानेन्द्र पालले दुर्घटना हुँदा क्षण सम्झँदै भने, ‘राति भएकाले अधिकांश यात्रु मस्त निद्रामा थिए । म भने निदाइसकेको थिइन् । त्यही बेला बस ठोक्किएको ठूलो आवाज आयो र पल्टियो । सबै यात्रुहरू चिच्याउन थाले ।’ पिलवस्तुकै चन्दौटास्थित अस्पतालमा उपचार गराइरहेका पालले दुर्घटनापछि आफू उठ्नका लागि पटक–पटक प्रयास गर्दा पनि असफल भएको बताए । उनले भने, ‘शरीर नराम्रोसँग ठोक्किएछ, अहिले पनि राम्रोसँग उठ्न नसक्ने अवस्था छ । ढाड अझै दुखिरहेको छ । जीवनमा पहिलोपटक ठूलो दुर्घटनाबाट बचियो ।’

पेशाले मूर्तिकार काठमाडौँ कीर्तिपुरका अनिल ताण्डुकारले चालकले गियर बदल्ने बेलामा ठूलो आवाज आएको र त्यसको केही समयमै दुर्घटना भएको अनुभव सुनाए । ‘आँखा अगाडि नै धेरैको ज्यान गयो, चाहेर पनि सबैको उद्धार गर्न सकिएन’, अनिलले भने । उनी बसको क्याबिनमा चालक नजिकैको सिटमा बसिसकेका थिए ।

दुर्घटनामा रौतहट औरही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिकहल–३ भइ हाल नेपाली सेनाको कालीजङ्ग गण गोरुसिङ्गमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेश मुरदावादका सकिल मुसलमान, भीमदत्त नगरपालिका–१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामीको मृत्यु भएको छ । साथै, भीमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका–१६ कञ्चनपुरकी २७ वर्षीया सन्जु थापा, पुर्नवास नगरपालिका निवासी किसन भट्ट, भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका–२ बस्ने सुदीप भट्ट र पुर्नवास नगरपालिका–९ बिसफाटा बस्ने विमलादेवी भट्टको पनि ज्यान गएको हो ।

बसका चालक महेन्द्रनगरका पूर्णबहादुर चन्दले पहाडी घुम्तीमा बसको ब्रेकले काम नगरेपछि पहाडमा ठोक्कएर यात्रु बचाउन खोज्दा बस उछिट्टिएर खोलामा खसेको सुनाए । बुटवलको चौराहा अस्पतालमा उपचार गराइरहेका चालक चन्दका अनुसार आफूभन्दा पछाडि आएका बसका कर्मचारी र यात्रुले भालुवाङ प्रहरीलाई जानकारी गराएपछि चन्दौटा र भालुवाङबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । राससले जनाएनुसार घटनास्थल घनाजङ्गल र पहाडमा पर्ने भएकाले सहजरुपमा सञ्चार सम्पर्क हुन नसक्दा उद्धारमा ढिलाइ भएको घाइते यात्रुहरूको भनाइ छ ।

सशस्त्र प्रहरी भालुवाङ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कपिलवस्तुको रोप रेस्क्यु टिमले उद्धार गरेको सशस्त्र प्रहरी कपिलवस्तुका प्रहरी उपरीक्षक जीवन केसीले बताए । ‘उद्धारका क्रममा पहिलो प्राथमिकता जटिल घाइतेलाई दियौँ’, केसीले भने, ‘घटनास्थलको अवस्था हेर्दा धेरै मानवीय क्षति हुनबाट जोगिएको छ ।’ बस दुर्घटना हुनुमा बसको ब्रेकमा समस्या तथा चालक निदाएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।