ताप्लेजुङस्थित आठराई त्रिवेणी गाँउपालिका हाङपाङ वडा नं.३ मा रहेको हाङपाङ धोद्रे मिचिरिङ खानेपानी योजनामा लाखौंको भ्रष्टाचार भएको छ । उक्त योजनाको काम सुरु हुनुभन्दा अगाडि नै गाउँपालिकाले ५८ लाख रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरी स्थानीयवासी अम्बिका आङ्बोहाङले दर्ता गराएका हुन् ।
उनले माघ ७ गते अख्तियारमा दर्ता गरेको उजुरीको नम्बर सी–०४३२३२ रहेको छ । उजुरीमा गाउँपालिका अध्यक्ष दिपेन पोमु, प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराई, लेखापाल भेषराज निरौला, इन्जिनियर जिवन भण्डारीसमेतको मिलेमत्तोमा भ्रष्टाचार भएको दाबी गरिएको छ ।
निवेदनका सम्बन्धमा बुझ्न खोज्दा निवेदक आङ्बोहाङले गाउँपालिका अध्यक्ष पोमुले आफ्नै नाममा रहेको फर्म आफू गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभन्दा पाँच दिन अगाडि आफ्नो श्रीमतीको नाममा नामसारी गरिदिएका थिए । सोही कम्पनीको नाममा अध्यक्ष पोमुले ठेक्का लिएर कामै नगरी रकम भुक्तानी निवेदकले गरेको बताए । निवेदक आङ्बोहाङले भने, ‘उक्त आयोजनामा ४८ सय घनमिटर खन्नुपर्नेमा अहिलेसम्म खन्नै सुरु गरिएको छैन् । तर, भ्याटसहित ६१ लाख र भ्याटबाहेक ५८ लाखभन्दा बढी भुक्तानी भइसकेको छ ।’
त्यसैगरी, आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष सोम बिमलीले पनि निर्माण गर्नु पूर्व छड, सिमेन्ट लगायतका सामान झारेमा १० प्रतिशतसम्म भुक्तानी गर्न सकिने भएपनि उक्त आयोजनामा भने खन्ने काम सुरु नभएको मात्र होइन कुनै सामान समेत नझारिएको बताए । कूल एक करोड ६३ लाखमा ठेक्का लिएको उक्त योजनामा सामान पनि नझारि र खन्ने काम पनि सुरु नगरि भुक्तानी लिएर ठेक्का लिने कम्पनीले भ्रष्टाचार गरेको तथा गाविस अध्यक्षले भुक्तानी दिएर पदीय दुरोपयोग गरेको उनीहरुको दाबी छ ।
यसै विषयमा बुझ्न खोज्दा गाविस अध्यक्ष पोमुसँग सम्पर्क हुन सकेन । अख्तियारमा निवेदन दिने निवेदकले भने यो विषयमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई समेत स्थलगत अनुगमन गरिदिन आग्रह गरेपनि अहिलेसम्म अनुगमन हुन नसकेको बताए । उनले अख्तियारबाट समेत उक्त निर्माणस्थलको समयमै अनुगमन हुनुपर्नेमा नभएको समेत दुखेसो गरे ।






















