- अच्युतप्रसाद पौडेल चिन्तन
पाप प्रदुषण हो । तनको प्रदुषण, धनको प्रदुषण र मनको प्रदुषणको समष्टि नै पाप हो । पापको सोत लोभ हो । लोभरुपी ग्रहले मानवलाई खान्छ । काल ग्रास भनिन्छ यसलाई १ लोभबाट पाप पैदा हुन्छ । पापबाट अधर्मरुपी जरा निस्कन्छ । त्यो जराले गाँजेर दुस्खको जन्म हुन्छ । दुस्खबाट स्वतस् पाप वृद्धि हुन्छ । आफ्नो भरणपोषण, परिवारमा भरणपोषण र समाजमा आफू उन्नतशील रहन पाप कर्महरु वृद्धि भैरहन्छन् । ‘लोभ, दु:ख, पाप, अधर्म’, घडि झै घुमिरहेको हुन्छ ।
लोभबाट कामोत्तेजना पैदा हुन्छ । कामोत्तेजनाको कारण क्रोध पैदा हुन्छ । क्रोध पछि तनाव पैदा हुन्छ । आवेग–तनाव–क्रोधबाट इर्ष्या, मोह, अभिमान पैदा हुन्छ । पदको अभिमान, प्रतिष्ठाको अभिमान, पैसाको अभिमान, परिवारको अभिमान, पुत्र, पुत्री सन्तानको अभिमान, बडप्पनको वृद्धि भैरहेको हुन्छ । कुलको इज्जत र कुलको अभिमानले जरो गाडेपछि क्रमश: मानव हृदय शुन्यताको स्थितिमा पुग्न सक्छ ।
लोभबाट क्रमश: कृपणता आउँछ । कृपणताबाट तृष्णाको उदय हुन्छ । तृष्णा विकर्म र अधर्मलाई निम्त्याउँछ । लोभबाट अविश्वास पैदा हुन्छ । हत्तपत्त जो कोहीलाई विश्वास नगर्ने हुन्छ । मनमा चंचलता उत्पन्न भएपछि संसारमा विषयवस्तु प्रति राग बढेर जान्छ । ईश्वर प्रति अनुराग घट्छ ।
लोभबाट क्षमा हराउँछ । लोभकै कारण लज्जा हराउँछ । लज्जा नियम हो । सामाजिक बन्धन हो । नियम हराएपछि नैतिकता स्वत: दवेर बस्न बाध्य हुन्छ । यसै बखत धर्मको ह्रास हुन्छ । पापको भारी वृद्धि हुन्छ। चिन्ता बढ्छ । अधार्मिकहरुको विगविगी हुन थाल्छ । धार्मिक सज्जनहरु खेदिन लखेटिन थाल्छन् । चिन्ता बढ्दै जाने हुनाले “चिन्तन” हट्न थाल्छ । मनोमालिन्य वृद्धि हुन्छ ।
लोभको कारण अरुको धनको मोह पैदा हुन्छ । अरुको तनको मोह पैदा हुन्छ । काम इन्द्रियहरु तीव्र हुन थाल्छन् । जिब्रोले रसको खोजी बढी गर्छ । मिथ्या बोलीबाट आफू ठूलो हुने प्रयास व्यक्तिले गर्छ । अरुप्रति द्वेष, घृणा, दुर्गूण बढ्दै जान्छ । स्नेह, भातृत्व, क्षमा र दया स्वत: हटेर, घटेर जान थाल्छन् । लोभको स्वरुप अचम्मको हुन्छ । मान्छे बूढो हुन्छ तर लोभ तन्नेरी हुँदै जान्छ । उसको स्वभाव जवानी हुँदै जान्छ । सम्पूर्ण खहरेहरु, नदीहरु, वर्षाकालीन भेलहरु समुद्रमा पुग्छन् । ठीक त्यस्तै धन, पद, प्रतिभा एकोहोरिएर वर्षन थाल्छन् तर पूर्णता प्राप्ति हुँदैन । वर्षाकालीन नदीनालाहरु सोहोरिएर समुद्रमा पुग्दा पनि समुद्रले पुग्यो भन्दैन ठीक त्यस्तै सबै रुप, प्रतिष्ठा, धन संपति एवम सोहोरिएर आए पनि लोभी व्यक्तिले मलाई पुग्यो भनेर कहिल्यै भन्दैन ।
लोभको वास्तविक स्वरुप देवता पनि जान्दैनन् । मनुष्यपिच्छे लोभको स्वरुप फरक फरक हुन्छ । आवरण अनुसार लोभको स्वरुप फरक फरक हुन्छ । वास्तविकरुप एउटै हुँदैन । परिवेश अनुसार लोभको रुप अलग अलग हुन्छ । लोभको स्वरुप बुझ्न चाँही सजिलो छ । यसको स्वरुप दंभ हो, द्रोहीपना हो, निन्दा हो, चुकली हो, द्वेष हो, यस्ता अवगुण जसमा पाइन्छ ऊ लोभी हो भन्ने बुझ्नुपर्ने हुन्छ ।
अज्ञानता र लोभ परिपूरक
लोभ भन्नु अज्ञानता हो, कायरता हो । अज्ञानता एउटा पर्दा हो जसबाट स्वर्ग प्राप्ति हुँदैन । भगवान प्राप्तिमा छेकवार लाउने काम अज्ञानताले गरिराखेको हुन्छ अर्थात् लोभले गरेको हुन्छ । नरक भनेको केही होइन । प्रदुषणको नाम नरक हो । नर भनेको मान्छे हो, मान्छेले गर्ने खराबीहरुलाई नरक भनिन्छ । कर्ता स्वयं मनुष्य नै हो । कर्ता ईश्वरलाई विर्सनाले कर्ता हर्ताकर्ता सम्झन्छ । उसले सबै कार्य आफूले गरेको भन्ने ठान्छ । कर्तृत्वको अभिमान बोकेको हुन्छ । कर्तृत्वको अभिमान बोकुन्जेल ईश्वरीय सत्तालाई स्वीकार्न सकिंदैन । कुविचार नरक हो, कुसंस्कार नरक हो । कुप्रवृत्ति नरक हो । स्वर्ग र नरक हाम्रै वरिपरि छन् । पर होइन, यहीँ छन् ।
अरुको उन्नति र प्रगतिलाई देख्न नसक्नु त्यसबाट जलन पैदा हुनु लोभको प्रतिकात्मकता हो । अज्ञानताले यस्तो स्वभाव पैदा हुन्छ । लोभ बढ्नु भनेको अज्ञानको वृद्धि हुनु हो भने लोभको मात्रा घट्न जानाले अज्ञानतालाई केही हदसम्म तल झार्न सकिन्छ । लोभ र अज्ञानता एक अर्काका परिपूरक हुन् । जनक राजा, पृथु, अम्बरिष, दधिचिहरुले लोभ गरेनन् । तर हिरन्याक्ष, हिण्यकशीपु, रावण, कुभककर्ण, दन्तवक्र, शिशुपाल, जरासन्धहरुले लोभ गरे तिनीहरु अज्ञानी थिए ।
निराकरणका उपायहरु:
धार्मिक सिद्धान्त अनुसार लोभका निराकरणका केही सजिला उपायहरु छन् । इन्द्रिय संयम गरेर, शुभ कर्ममा अग्रसर भएर, खराब कार्यलाई तिरस्कार गरेर, सकारात्मक सोचको वृद्धि गरेर । सकारात्मक सोचले दीर्घजीवी बनाउँछ । रागबाट टाढा हुनेले रोगबाट पनि टाढा रहन सक्छ । आधिको रोग राग हो भने व्याधिको रोग चाँही रोग हो । मनमा शान्ति स्थापना गरेर, स्वाध्यायबाट र आनन्द लिएर, क्रोधलाई चेहरामा आउन नदिएर, प्रफुल्ल रहेर, हाँसेर, हसाँएर–आफू रुनेले अरुलाई हसाँउन सक्तैन । आफू हाँसेमा जगत हाँस्न सक्छ । आफूले आफूबाट मुस्कान प्राप्त गर्न सक्नेले अरुलाई मुस्कान छर्न पनि सक्छ ।
संयमीको लक्षण क्षमा हो, धीरता हो, अहिंसा हो, समता हो, सत्यता हो, सरलता हो, दक्षता हो, कोमलता हो, स्थिरता हो, उदारता हो, शान्त स्वभाव हो, सन्तोष हो, दोष नदेख्ने बानीले प्राणीप्रति दया भाव पैदा हुन्छ । अरुलाई अपमान नगर्ने, निन्दा नगर्ने बानीले संयमीको लक्षण उजागर हुन्छ । मुक्त व्यक्ति त्यही हो जसले सदैव कसैको निन्दा गर्दैन, अरुको प्रशंसाबाट पनि बच्दछ । सबैप्रति मित्रता भाव राख्छ । वैरभाव पटक्कै कसैप्रति गर्दैन । सदाचारी, गुणी, स्नेही, मित्रवत् रहन्छ । देहाभिमानबाट टाढा रहन्छ । प्राणीमा समभाव राख्छ । आफू अभयी रहन्छ । क्षमाशील बनेर पुण्य आर्जन गर्न सदैन अग्रसर हुन्छ र अरुलाई पनि पुण्य आर्जन गर्न थप बल र प्रेरणा अनि उत्साह दिन्छ ।


















