रिपोर्टर्स क्लव र ऋषि धमला एकअर्काका पुरक हुन । अर्थात धमला भन्ने वित्तिकै रिपोर्टर्स क्लव र रिपोर्टर्स क्लव भन्ने वित्तिकै धमला भन्ने बुझिन्छ । धमलाको परिचय, जिविकोपार्जन र शान सौकतको हतियार बनेको रिपोर्टर्स क्लव स्थापना भएको २५ वर्ष पुरा भएको छ । क्लवको २६औं वार्षिकोत्सव चैत १७ गते मनाइएको छ । नयाँ बानेश्वरको पाँचतारे होटल एभरेष्टमा धमलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि सत्ता गठबन्धनका अर्का खम्बा केपी ओली र विभिन्न दलका दर्जनौं नेताहरु भेला पारेर वार्षिकोत्सव मनाएका छन् । तर त्यही रिपोर्टर्स क्लवले राज्यलाई झण्डै करोड रुपैयाँ बराबरको रकम तिर्न बाँकी रहेको खुलासा पनि यहि बेला भएको छ ।
हरेक वर्ष दर्जनौं पत्रकारलाई पुरस्कार बाँड्ने ऋषि धमलाले भृकुटीमण्डपस्थित क्लवको कार्यालय बसेको भवनको भने भाडा तिरेका छैनन् । समाज कल्याण परिषद अन्तर्गतको उक्त भवनको भाडा धमलाले बर्षाैंदेखि नतिरेको खुलासा भएको हो । धमलाले भाडा वापतको ८० लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । समाज कल्याण परिषद्ले ३५ दिनभित्र भाडा तिर्न ताकेता गर्दै सार्वजनिक सूचना नै जारी गरेको छ । परिषद्ले सार्वजनिक सूचना जारी गरेको यो दोस्रो पटक भएको बुझिएको छ ।
२०७२ साल बैशाख १२ गतेको महाभूकम्पपछि धमलाले रिपोर्टर्स क्लवलाई पुतलीसडकबाट भृकुटीमण्डपमा सारेका थिए । त्यतिबेला तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पावर लगाएर धमलाले उक्त सरकारी भवन हात पारेका थिए । २०७२ सालको असारबाट रिपोर्टर्स क्लव त्यहाँ सरेको थियो । यस हिसाबले क्लव त्यहाँ सरेको आठ वर्ष १० महिना पुरा भएको छ । धमलाले यो अवधिमा कति पटक भाडा तिरे भन्ने समाज कल्याण परिषदले नखुलाए पनि बक्यौता रकम हेर्दा एक पटक पनि भाडा नतिरेको अनुमान लगाउन सकिन्छ । जबकी धमलाले हरेक वर्ष सञ्चार मन्त्रालयबाट मात्रै लाखौं रकम बुझ्ने गर्दछन्, क्लवका नाउँमा ।
धमलाले कार्यालयको भाडा मात्रै नतिरेको होइन, उनको क्लवको कुनै लेखा समेत नरहेको क्लव निकट स्रोतले बताएको छ । सञ्चार मन्त्रालयदेखि विभिन्न मन्त्रालयहरुबाट हरेक वर्ष सहयोग रकम लिने, हरेक वर्ष वार्षिकोत्सवमा झण्डै करोड रुपैयाँ बराबरको विज्ञापन उठाउने तर हिसाब किताब भने केही पनि नराखी राणाकालमा जस्तो “जम्मा नजोड्नू कौडी नछोड्नू” भन्ने सिद्धान्तमा धमलाले क्लव चलाएको बुझिएको छ । जो सत्तामा पुग्यो उसैको चाकडी गर्न माहिर धमलाबाट भाडा उठाउन समाज कल्याण परिषद्ले अब कस्तो रणनीति लिन्छ भन्ने प्रतीक्षाको विषय बनेको छ ।
त्यसो त धमला मात्रै नभई भृकुटीमण्डपस्थित परिषद मातहतका भवन तथा संरचना प्रयोग गर्ने अन्य संस्थाहरुले पनि बर्षाैंदेखि भाडा नतिरेको देखिएको छ । भाडा वापतको सवैभन्दा बढी बक्यौता सार्वजनिक पुस्तकालयको रहेको छ । सार्वजनिक पुस्ताकलयले १ करोड ७५ लाख रुपैयाँ भाडा तिर्न बाँकी रहेको देखिएको छ । यस्तै राष्ट्रिय अपाङ्ग कोषले ८० लाख रुपैयाँ तिर्न बाँकी छ भने बालबालिकाका लागि गैरसरकारी संस्था महासंघको भाडाको बक्यौता ५० लाख रुपैयाँ रहेको छ । त्यसैगरी उपभोक्ता महासंघको ३४ लाख रुपैयाँ र गणेशमान सिंह अध्यन प्रतिष्ठानले २० लाख रुपैयाँ भाडा तिर्न बाँकी छ । यी सवै संस्थाहरुबाट परिषदले उठाउनुपर्ने भाडा वापतको रकम ६ करोड रुपैयाँ बढी देखिएको छ ।
यस्तै भृकुटीमण्डप परिसरभित्र रहेका हङकङ बजार भनिने खुला बजारका १३ सय वटा पसल, ६० वटा स्टल, ३२ वटा टहरा मध्ये अधिकांशले कोभिडपछि भाडा नतिरेको भन्दै भाडाका लागि परिषदले ताकेता गरेको छ ।


















