कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषण गरेका छन् । आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै उनले पदबाट राजीनामा दिएका हुन् । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी(एमाले)लाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएबमोजिम नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का तर्फबाट मुख्यमन्त्री बनेका शर्माले राजीनामाको घोषणा गरेका हुन् । मुख्यमन्त्री शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताए । उनले सत्ता समीकरणमा भएको फेरबदलका कारण प्रदेशका नियमित काममा अवरोध भएको अनुभव सुनाए । उनले भने, ‘सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण नियमित काम गर्न नसक्ने अवस्था आयो । राजनीतिक समीकरणमा भएको परिवर्तनले पटक-पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।’

उनले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्नेमा जोड दिए । उनले आफूले कार्यकालभर धेरै काम गरेको उल्लेख गर्दै अझै कतिपय काम चाहेर पनि गर्न नसकेको बताए । डिजिटल कर्णालीका लागि आवश्यक रणनीति तथा कर्णाली लगानी सम्मेलनका लागि प्रयास भएको उनले बताए । उनले भने, ‘कर्णालीका २३ वटा स्थानीय तहलाई नमूना बनाउनेतर्फ पनि काम भएका छन् । योजना छनोटलाई वस्तुगत तथा प्रभावकारी बनाइएको छ ।’