प्रतिनिधिसभाको इलाम क्षेत्र नं.२ मा हुनलागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । इलाम बजारस्थित बार एशोसिएसनको भवनमा स्थापना भएको सो कार्यालयको उद्घाटन आज निर्वाचन आयुक्त डा.जानकी तुलाधरद्वारा भएको हो ।
कार्यालय स्थापनाका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त डा.तुलाधरले स्वच्छ, स्वतन्त्र र विश्वसनीय ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताइन् । त्यस अवसरमा इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले इलाममा निर्वाचन सम्पन्न गर्न सुरक्षाका हिसाबले कुनै चुनौती नरहेको बताए । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । इलामको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २० राजनीतिक दल दर्ता भएका छन् ।













