पर्यटकसँग सम्बन्धित तीन सय ७० उजुरी दर्ता

नेपाल प्रहरीमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पर्यटकसँग सम्बन्धित तीन सय ७० वटा उजुरीहरु दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार तीमध्ये सामग्री हराएका दुई सय ७३, चोरीका ४९, ठगी गरेका ११, लुटपाट पाँच, अभद्र व्यवहार १७, आक्रमणका दुई, दुर्घटनाका दुई, धाकधम्की एक, मानिस हराएको चार, दुर्व्यवहार एक तथा अपहरणका एक वटा उजुरीहरु परेका हुन् ।

आर्थिक वर्ष २०७७/७८ मा ७९, आव २०७८/७९ मा एक सय ८० तथा आव २०७९/८० मा पाँच सय ३२ उजुरी परेका र यी आवको तथ्याङ्क विश्लेषण गर्दा कागजपत्र र सामग्री हराएको सङ्ख्या सबैभन्दा बढी देखिएका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जनाए । पर्यटक प्रहरीले पर्यटकलाई पर्न आएका समस्या, दु:ख, पिरमर्का, हैरानी तथा गुनासा समयमै समाधान गर्ने एवं पर्यटकको नेपाल बसाइँ सुरक्षित तथा भएरहित रहेको अनुभूति दिलाउन र पर्यटन विकासमा टेवा पुर्‍याउन पर्यटक प्रहरी सक्रिय रहेको पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख तथा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए ।

उनले भने, ‘पर्यटकलाई आवश्यक सूचना प्रदान गर्ने, पर्यटकीय क्षेत्रमा नियमित गस्ती गर्ने, पर्यटकलाई आवश्यक सहयोग गर्ने र पर्यटन क्षेत्रमा अभद्र व्यवहार, अश्लील तथा अवाञ्छित क्रियाकलाप गर्नेलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाउने गरिएको छ ।’ उनले घटना, दुर्घटना, प्रकोप एवं पर्वतीय तथा साहसिक पर्यटनका क्रममा स्वास्थ्यलगायत अन्य कारणले अलपत्र परेका पर्यटकहरुको खोज तथा उद्धार गरी सम्बन्धित निकाय, दूताबास वा आफन्तसँग सम्पर्क गर्ने/गराउने काम पर्यटक प्रहरीले गरिरहेको बताए ।

नेपाल आउँदा आइपर्ने यस्ता समस्या र गुनासो पर्यटक प्रहरीबाट तत्काल सुनुवाइ भई समाधान हुने गरेको उनको भनाइ छ । पर्यटकलाई समस्या भएमा हटलाइन नं.११४४ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ । कामको सिलसिलामा आइपर्ने चुनौती सामना गर्न पर्यटकको भरपर्दो अभिलेखीकरण गरी तत्काल समस्याको सम्बोधन गर्नसक्ने संयन्त्रको विकास गर्नुपर्ने देखिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक ढकालले बताए । उनले भने, ‘नेपालबारे अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश जाने गरी काम गर्न पर्यटक प्रहरी सक्रिय छ । यसका लागि पर्यटक प्रहरीलाई आवश्यक तालिम दिने गरिएको तथा सम्पूर्ण पर्यटक प्रहरी कार्यालयको स्थापनाको औचित्य पुष्टि, पहिचान, स्तरोन्नति र व्यवस्थित गर्ने काम भइरहेको छ ।’ पर्यटन सम्बद्ध सरोकारवालासँग समन्वय गरी नेपाल प्रहरीले उत्कृष्ट नतिजा दिने गरी काम गरिरहेको उनको भनाइ छ ।