ट्रम्पविरुद्धको मुद्दामाथि सुनुवाइ भइरहेको बेला अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

अमेरिकास्थित अदालतबाहिर एक व्यक्तिले आफूलाई आगो लगाएका छन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दामाथि सुनुवाइ भइरहेको म्यानहट्टनस्थित अदालतबाहिर आत्मदाहअघि उनले नजिकै भेला भएका सञ्चारमाध्यमहरू अगाडि पर्चा फालेका थिए । त्यहाँको प्रहरीले घटनास्थलमा दिएको प्रतिक्रिया अनुसार उनको मनसाय अज्ञात छ ।

अधिकारीहरूले घटनामा अदालतको सुरक्षामा खलल नपरेको पनि बताए । घटनापछि आयोजित पत्रकार सम्मेलनमा अनुसन्धानकर्ताहरूले उनीहरूले स्थानीय समय अनुसार दिउँसो साढे १ बजे ९११ मा आपतकालीन कल प्राप्त गरेको जसमा उनीहरूलाई एक व्यक्तिले आफूलाई आगो लगाएको बताइएको जानकारी दिए । उनीहरूले आत्मदाह गर्ने व्यक्ति म्याक्सवेल अजरेलोका रूपमा पहिचान गरेका छन् । उनी गत हप्तामा फ्लोरिडाको आफ्नो घरबाट न्यूयोर्क आइपुगेका थिए ।

न्यूयोर्कमा उनको कुनै आपराधिक रेकर्ड छैन र फ्लोरिडामा उनको परिवारलाई उनी न्युयोर्क आइपुगेको थाहा थिएन । न्युयोर्कका प्रहरी प्रमुख जेफ्री म्याड्रीले घटनाअघि अजरेलोलाई पार्कमा वरिपरि घुम्दै गरेको देखिएको थियो । प्रमुख म्याड्रीले भने, ‘उनका पर्चाहरू प्रोपोगान्डामा आधारित थिए । ती षड्यन्त्रको सिद्धान्तसम्बन्धी थिए ।’

मुद्दाको कारण अदालत बाहिर ठुलो सङ्ख्यामा प्रहरीको उपस्थिति थियो । अधिकारीहरू तुरुन्तै आगो निभाउन पुगेका थिए । यसका बाबजुद उनको शरीर धेरै नराम्रोसँग जलेको छ । उनलाई गम्भीर अवस्थामा अस्पतालको बर्न सेन्टरमा लगिएको प्रहरीले जनाएको छ । बीबीसी