नाट्टा गण्डकीले चीनमा पर्यटन प्रवर्द्धन गर्दै

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजनामा बिहिबारदेखि आगामी जेठको १० गतेसम्म चीनका विभिन्न सहरमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम हुने भएको छ । कार्यक्रमबारे जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले चीनमा ‘पोखरा नेपाल टुरिज्जम प्रमोशन एण्ड सेल्स मिसन इन चाइना’ कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

कार्यक्रम अन्तरगत पोखराबाट बिहिबार निस्केको १६ सदस्यीय टोलीले चीनको ग्वान्तङ प्रान्तको ग्वाङझाउ सहरमा जेठको ३ गतेदेखि ५ गतेसम्म हुन गइरहेको ग्वाङझाउ इन्टरनेशनल ट्राभल फेयर २०२४ मा सहभागी बन्ने छ । त्यस्तै टोलीले चीनको राजधानी सहर बेइजिङमा नेपाल पर्यटन बोर्डको आयोजना र नेपाली राजदूतावासको समन्वयमा नेपाल सेल्स मिसन एण्ड विटुवी कार्यक्रम गरी पोखरा र नेपालको पर्यटनको गतिविधि समेटिएको वृत्तचित्र प्रस्तुत गर्नेछ । उक्त क्रममा नेपालको विभिन्न पर्यटन प्रवद्र्धनात्मक साम्रगी प्रदर्शन एवम् वितरण गरिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख नवीन पोखरेलले जानकारी दिए ।

टोलीले चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि व्यवसायी र सम्बन्धित निकायसँग छलफल गर्ने साथै चीनका मुख्य सहरको भ्रमण गरी त्यहाँंको आर्थिक र पर्यटन विकासको अवलोकन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

चीन नेपालका लागि प्रमुख पर्यटन बजारका रुपमा रहेको छ । अघिल्लो वर्ष सन् २०२३ को अप्रिलमा नेपाल भित्रने चिनियाँ पर्यटकको सङ्ख्या चार हजार सात सय ७० जना रहेकोमा यसवर्ष सोही अवधिमा नौ हजार सात सय ५० पर्यटन नेपाल भित्रिएका छन् । अघिल्लो वर्षसँग तुलना गर्ने हो भने यो सङ्ख्या गत वर्षको भन्दा १०४.४ प्रतिशत हो ।

पत्रकार सम्मेलनमा नाट्टा गण्डकी प्रदेशका महासचिव सङ्गीता पौडेल, पर्यटन विज्ञ वासुु त्रिपाठी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, कार्यक्रम संयोजक खिमबहादुर नेपाली लगायतले प्रवद्र्धनात्मक कार्यक्रमले पोखरा र नेपालमा चीनबाट पर्यटकको आगमन बढ्नुका साथै पर्यटन व्यवसायीबीच पर्यटकीय साझेदारी बन्ने विश्वास व्यक्त गरे ।