कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएपछि रिट दायर गर्न सर्वोच्च अदालत पुगेका छन्। जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले मंगलबार उनीविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएका थिए।
सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेपछि धनुषा प्रहरीले उनीविरूद्ध पुर्जी माग गरेको थियो। उनले जिल्ला अदालत धनुषाको पक्राउ पुर्जी बदर गरपाउँ भनेर रिट ल्याएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। सिरोहिया आफैं उपस्थित भएको छ।
सिरोहियाले आफूविरूद्ध धनुषा प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रतिषेधको आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो। यसको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ।
सिरोहियाले यसरी नागरिकताको विषयमा जाहेरी परेपछि राज्यले २०३३/२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको भन्दै विज्ञप्ति जारी गरेका थिए।
त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका थिए।



















