ललितपुरस्थित ‘एमक्यु ग्यालरी’मा इरानी चित्रकार महदेस सहरिआरी मोघादमको एकल चित्रकला प्रदर्शनी शुक्रबारदेखि सुरू भएको छ । प्रदर्शनीमा नेपाली महिलाको स्वतन्त्र जीवनशैली र इरानी महिलाको बन्देजपूर्ण जीवनशैलीको तुलनात्मक चित्र प्रदर्शनीमा राखिएका छन् ।
त्यसअवसरमा उनले नेपाली महिला इरानका महिलाभन्दा निकै स्वतन्त्र रहेको बताए । उनले भने, ‘खुलेर काम गर्न र बोल्न सक्ने वातावरण नेपाली महिलाले पाएका छन् । यो ठूलो उपलब्धि मान्छु, इरानमा महिलाले यस्तो अवसर पाउने कल्पना पनि गर्न सकिँदैन ।’
उनले महिलाको स्वतन्त्रताको प्रतीकका रुपमा माछाको आकृति बढी चित्रमा उतारेका छन् । ‘एमक्यु ग्यालरी’ का प्रमुख मनिषलाल श्रेष्ठले विदेशी एवम् स्वदेशी कलाकारलाई प्रत्येक महिना कला सिर्जना गराउँदै आएको र यही क्रममा आगामी महिना रुसी कलाकारले कला सिर्जना गर्ने जानकारी दिए । प्रदर्शनीमा राखिएको चित्रको मूल्य दुई हजार पाँच सयदेखि दुई लाख ५० हजार रुपैयाँसम्म राखिएको छ ।


















