नवलपरासी सुस्ता पूर्वको एक सहकारी घोटाला प्रकरणमा मुछिएकी सांसद गीता बस्नेतलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अदालतमा उपस्थित भएर कानुनको पालना गर्न निर्देशन दिएको छ । सोमबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार राप्रपाकी सांसद बस्नेतलाई यस्तो निर्देशन दिएको अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
त्यस्तै, बैठकले अन्य सहकारी घोटाला प्रकरणको पनि छानबिन गर्न सरकारसँग माग गरेको छ । राप्रपाका अध्यक्ष लिङ्देनले भने, ‘माननीय गीता बस्नेतमाथि नवलपरासीस्थित छिपछिपे सहकारीबाट उहाँसमेत सञ्चालक रहेको कृष्णसार रिसोर्टमा रकम गएको सन्दर्भमा उहाँमाथि प्रहरीले मुद्दा चलाएको सन्दर्भमा हाम्रो ध्यानाकर्षण भएको छ । र, पार्टीले यसअघिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि गीता बस्नेतलाई छानबिनमा सहयोग गर्न निर्देशन दिइसकेको छ । बैठकले पुन अदालतमा उपस्थित भएर कानुन बमोजिम सफाइ लिन निर्देशन दिएको छ ।’
त्यसैगरी, राप्रपाले दबावमूलक प्रदर्शन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको सोमबार सकिएको बैठकले ४० बुँदे माग अहिलेसम्म सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । सुशासन, विकास र सेवाप्रवाहसँग सम्बिधत माग तत्काल सम्बोधन गर्न र दीर्घकालीन माग र मुद्दाहरुमा सबै दलहरुबीच नविन समझदारी निर्माणका लागि पहल गर्न ध्यानाकर्षण गराउने निर्णय भएको अध्यक्ष लिङ्देनले जनाए ।
साथै, माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । आन्दोलनको स्वरुप निर्धारण गर्ने जिम्मेवारी आन्दोलन परिचालन समितिलाई दिएको छ । बैठकले भ्रष्टाचार, जनजीविका र समसामयिक विषयमा दबावमूलक प्रर्दशन गर्ने समेत निर्णय गरेको अध्यक्ष लिङ्देनले बताए ।
बैठकले आगामी ०८२ वैशाखभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । सहकारी छानबिननबारे प्रतिपक्षको माग बेवास्ता गर्दै संसद् चलाएकोमा संसदीय मूल्य मान्यता विपरीत भएको ठहर पनि राप्रपाले गरेको छ । गत पाँच वर्षमा कृषि अनुदानका नाममा तीन तहको सरकारले एक खर्ब रुपैयाँ वितरण गरेको भन्दै त्यो क-कसलाई वितरण गरेको हो भनेर त्यसको श्वेतपत्र माग गर्न पनि राप्रपाले माग गरेको छ ।



















