नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएसँगै आर्थिक सुधारका कार्यक्रमले गति लिने बताएका छन । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन गरेपछि प्रधानमन्त्रीले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवद्र्धन गर्ने गरी आगामी आवको बजेट सार्वजनिक गरिएको बताए ।

प्रधानमन्त्रीले भने, ‘गणतन्त्र स्थापनापछि धेरै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रसम्म गुणात्मक परिवर्तन भएको छ । सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।’ उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई तल्लो तहका जनताले अनुभूत गर्ने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्वका कार्यक्रम अघि सारेको जानकारी दिए । उनले भने, ‘प्रदेश सरकारका नीति तथा कार्यक्रममार्फत पनि तिनै विषयलाई प्राथमिकतामा राखेको छ । त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ ।’ उनले पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको बताए ।

देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री दाहालले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गरे । उनले भने, ‘शारीरिक तथा मानसिकरूपमा सबल, सक्षम र स्वस्थ नागरिकहरूको प्रयत्नबाट मात्र कतिपय देशहरू हरेक क्षेत्रमा फड्को मार्न सफल भएका छन् । यही वास्तविकतालाई मनन गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र गणतन्त्र प्राप्तिको छोटो अवधिमा स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार भएको छ ।’

२०७२ सालको भूकम्पले धराशायी भएका भौतिक संरचना तथा चौतारा अस्पतालका संरचना पुनःनिर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले नयाँ भवन निर्माण भएसँगै अस्पतालको खुलाचौरमा त्रिपालभित्र उपचार गर्नुपर्ने बाध्यता अन्त्य भई सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे ।

व्यवस्थासँगै अवस्था परिवर्तनका लागि सिन्धुपाल्चोकको महत्त्वपूर्ण भूमिमा रहेको बताउँदै प्रधानमन्त्रीले जनयुद्धका कठिन समयमा यहाँका जनताबाट माया पाएको स्मरण गरे ।  प्रधानमन्त्रीले भने, ‘म धेरैपटक सिन्धुपाल्चोक आएको छु, जनयुद्धका कठिन दिनहरूमा मैले यहाँका गाउँँबेँसी चहारेको छु, यहाँका भीरपाखाहरू छिचोलेको छु । वृद्ध आमाहरूले मायाले पकाएर दिनुभएको खोलेफाँडो खाएर क्रान्तिको मोर्चामा लामबद्ध भएको छु ।’ चीन सरकारको सहयोगमा उक्त अस्पताल निर्माण भएको हो ।

यसअघि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष दाहालले पार्टीको सिन्धुपाल्चोक जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेटमा देशलाई प्रतिगमनको जोखिमबाट आफूले जोगाएको बताए । पार्टी अध्यक्ष दाहालले वर्तमान राजनीतिक समीकरणलाई भत्काउन विभिन्न तहबाट भएका प्रयासलाई आफूले निष्फल पारेको बताउँदै प्रतिपक्षमा रहेका सबै राजनीतिक दलसँग सहकार्य गरेर आफू अघि बढेको उल्लेख गरे । उनले माओवादी केन्द्रप्रति जनताको आशा एवं भरोसा रहेको बताउँदै जनजीविकाका सवालमा पार्टीले गम्भीर भएर काम गर्दै आएको स्पष्ट गरे । उनले यिनै विषयलाई दृष्टिगत गरी आगमी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको जानकारी पनि दिए ।