गृहमन्त्री लामिछानेले ट्वीट गरेर देश चलाउन मिल्छ ? : रामहरि खतिवडा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मिडिया ट्रायल गरेर, ट्वीट गरेर देश चलाउन मिल्छ ? भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रश्न गरेका छन् । आज आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले देश हुकुमी शासनमा चलाउन खोजेको हो, भन्दै प्रश्न गरेका हुन् ।

उनले मापसे गरेकाहरूलाई कुन कानुनमा टेकेर सडकमा उभ्याएको भन्दै प्रश्न गरे । उनले यो काम तत्काल बन्द गर्नका लागि रूलिङको माग समेत गरे । उनले भने, ‘उपप्रधानमन्त्रीको ट्वीट पढेँ । ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीलाई महिनावारीमा चार दिन बिदा दिने । कानुन बनाएर गर्दा स्वागत गर्छौ, धन्यवाद दिन्छौँ । मुलुक हुकुमी हैन कानुनअनुसार चल्नुपर्छ । मापसे गरेको बिहान सडकमा ल्याएर उभ्याउने ? कुन कानुन र नियममा छ ? यसरी मुलुक चलाउने ?’

खतिवडाले २००७ सालदेखि हुकुमी शासनविरुद्ध लड्दै आएको भन्दै अहिले पनि हुकुमी शासनविरुद्ध आफूहरू रहेको बताए । उनले कानुनी राज्यमा हुकुमी हैन कानुनी शासन हुनुपर्ने उल्लेख गरे ।