बलात्कार मुद्दामा पूर्वन्यायाधीश गिरीलाई कैद र जरिवानाको फैसला

पूर्वन्यायाधीश भुवन गिरी जबरजस्ती करणीमा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको हो । न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै सात वर्ष कैद सजाय सुनाएको हो ।

जिल्लाले उनलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ। जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले पाउने छिन् । जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो । उक्त फैसलाको आइतबार सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो ।

उनी सर्वोच्च अदालतको आदेशनुसार यसअघि नै थुनामा छन् । सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो । जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि उनले न्यायाधीश पदसमेत गुमाइसकेका छन् ।