युवा समिति काठमाडौंले किशोरीहरुको आत्मरक्षा तालिम समापन गरेको छ । मंगलबार काठमाडौंको चन्द्रगिरी नगरपालिकास्थित चुनदेवी माविमा बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रमा आलेमगरको प्रमुख आतिथ्यतामा तालिम लिएका किशोरीहरुलाई प्रमाणपत्र वितरण गरियो ।
तालिम समापन कार्यक्रम युवा तथा खेलकुद परिषद काठमाडौंकी अध्यक्ष रुपा थापामगर, डा.कुल पाण्डे, चन्द्रबहादुर खत्रीको आतिथ्यमा भएको हो । ‘सीप सिकौं आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ प्रदेश सरकारले यो बर्ष सिप वर्ष घोषणा गरेसँगै चन्द्रागिरीमा किशोरीहरुलाई विशेष प्राथमिकतामा राखी आत्मरक्षाका लागि भनेर केही खेल र जुक्ती लगाएर आफूलाई विभिन्न ठाँउमा आइपर्ने मानवीय हिंसाबाट बच्ने सरल तरिकासम्बन्धी तालिम दिइएको थियो ।
सरकारले उक्त नारानुसार विभिन्न विधाका सीप (कुक, वेटर, सिलाइबुनाइै, ड्राभिङ लगायत)मूलक तालिम संचालन गर्दै आएको उक्त कार्यक्रममा जानकारी गराइयो । तालिमकी प्रशिक्षक राधिका हमालले किशोरीहरुलाई आफ्नो सुरक्षा आफै गर्न सकुन भन्ने उद्देश्यले यस्ता खेलसम्बन्धि तालिम आवश्यक रहेको बताइन् ।
युवा तथा खेलकुद मन्त्री मगरले महिला तथा किशोरीहरु कतै पनि सुरक्षित रहन नसक्ने र विभिन्न हिंसाको सिकार बन्नु पर्ने भएकाले अन्य सिपमूलक तालिमसहित यस्ता आत्मरक्षक तालिम पनि अति आवश्यक रहेको बताइन् । उनले महिलाहरुले हिंसालाई सहेर बस्नु नहुने र विभिन्न प्रकारका हिंसालाई तत्काल प्रतिबाद गरि हिंसारहित वातावरण बनाउन प्रेरित गरिन् ।
मन्त्री मगरले नेपालको कानुन बमोजिम महिला हिंसाको सजाए भएकाले पीडितले सहेर नबसी उजुरी गरेमा पीडकले कनुनले दिएको सजाय भोग्नुपर्ने बताइन् । आत्मरक्षक तालिमपश्चात किशोरीहरुले आफ्नो सुरक्षा आफै गर्न सक्ने कार्यक्रमकी सभापति रुपा थापामगरले बताइन् ।


















