राजदूत नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राजदूत नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरी हित हुनेगरी राजदूतहरूको नियुक्ति हुने स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने, ‘राष्ट्रको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिबद्ध छ ।’ उनले देशको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति सरकारले अवलम्बन गर्दै आएको स्पष्ट पारे ।

त्यसैगरी, नदीको प्रकृति र यसले पारिररहेको असरलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको परियोजना सेवामार्फत जलवायु परिवर्तनसँग अन्तरसम्बन्धित गरी प्रतिवेदन तयार गरिएको र कार्यान्वयमा ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्रभावितको समस्याका बारेमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले विषयको संवेदनशीलतालाई आत्मसात् गर्दै विभिन्न आयोगका सुझाव समेटी पीडित जनताका समस्या स्थायी रूपमा समाधान गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारे ।