२४ वर्षअघि नन्द बडुवालको मृत्यु भयो । उनको श्रीमती धौली बडुवाल हुन् । धौली त्यसबेला २१ वर्षकी थिइन् । कलिलैमा नन्द दैवको प्यारो बन्न पुगे । अनि, धौली विधुवा भइन् । घर चाहिँ उनीहरूको बाजुराको बडिमालिका नगरपालिका-६, कोर्ध हो ।
उनीहरूबाट जन्मेको एक छोरी हुन् । छोरी पनि अपाङ्गता छिन् । फलेको अन्नले आमा छोरीलाई वर्ष दिन पनि खान नपुग्ने । त्यही भएर धौली घरदेखि माथि बुढाकोर्धमा रहेको लेकमा गाईबस्तु पाल्थिन् । घरिघरी घर जान्थिन् । यसरी दुःखदुःखैमा गुजारा चल्दै थियो ।
गएको ६ जेठको प्रसङ्ग हो । धौली गाईबस्तुलाई घाँस दिएपछि खाना पनि खाएर धारामा हातखुट्टा धुँदै थिइन् । त्यसबेला रात परिसकेको थियो । समय चाहिँ करिब ९ बजे । ४५ वर्षीया धौलीको गोठनजिकको बाटो हुँदै लाल बडुवाल आए । लालका अनुसार धौलीले भनिन्, ‘लालेभूत राईहाले’ । अर्थात् राक्षस चिनिसकेँ । आफूलाई भूत भनेकाले लाललाई झनक्क रिस उठ्यो । धौलीको कपाल बायाँ हातले समातेर तान्दै गोठभित्र लगे ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले बिहीबार जिल्ला अदालत बाजुरामा दायर गरेको अभियोगपत्रमा गोठभित्र लगेपछि धौलीले हँसियाले हान्न खोजेको बयान दिएका छन् । उक्त हँसिया खोसेर फालेको बताएका छन् । त्यसपछि धौलीलाई हान्दा उनले चिच्याउँदै ‘मेरो शरीरमा किन हात हालेको’ भन्दै गाली गरिन् । लाललाई झन् रिस उठ्यो । धौलीलाई भुइँमा पछारेर च्यापेको र त्यसबेला प्रतिकार गरेपछि आधा घण्टाजति लगातार धौलीमाथि कुटपिट गरेको लालको बयान छ । कुटपिटबाट गम्भीर घाइते भएकी धौलीको त्यसपछि भने योनीमा काठको केही भाग घुसाइदिएको पनि लालले बयानमा खुलाएका छन् । उनका अनुसार यसपछि धौली बेहोस भइन् । शरीर चलमल भएन । ‘अब मरिहाली’ भनेर आफ्नो गोठमा गएर सुतेको उनको भनाइ छ ।
घटनाबारे भने धौलीको आफन्तले थाहा पाएका हुन् । त्यसपछि प्रहरीलाई आफन्तले खबर गरे । घटनास्थल पुगेको प्रहरीका अनुसार गोठको दोस्रो तलामा उत्तानो अवस्थामा धौलीको शव फेला परेको हो । टाउको रक्ताम्मे थियो । उनको बायाँ हात छेउमा नौनी र पिठो पोखिएको थियो । कुटपिटका कारण अनुहार कालोनिलो थियो । जिउभर चोटपटक थियो । बाजुरा प्रहरी प्रमुख दिलिपकुमार गिरीका अनुसार प्रहरीले यस्तो विवरण उल्लेखित शव प्रकृति मुचुल्का तयार गर्यो ।
सँगसँगै घटनामा संलग्नको खोजी पनि गरिरह्यो । यत्तिकैमा प्रहरीले मृतक धौलीको गोठ नजिकै एउटा गोठमा धोएर सुकाएको अवस्थामा नीलो रंगको जिन्स पाइन्ट र कालोमा सेतो रंगको पूरा बाउला भएको भेष्ट देख्यो । शंका लागेर लाललाई नियन्त्रणमा लियो । अन्ततः प्रारम्भिक सोधपुछका क्रममा उनले धौलीको मृत्यु घटनामा आफ्नो संलग्नता स्वीकारे ।
उनै लाल अहिले प्रहरीको न्यायिक हिरासतमा छन् । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता कविराज शर्मा पाध्याले तयार गरेर जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा भने धौलीलाई जबर्जस्ती करणी गरेर हत्या गरेको विवरण उल्लेख छ । यस आधारमा आरोपी लाल बडुवाललाई जन्मकैदको माग भएको छ । मृतक परिवारलाई क्षतिपूर्तिको पनि माग भएको छ ।


















