मोटरसाइकल दुर्घटनाबाट युवकको मृत्यु, दुई घाइते

झापाको मेचीनगर नगरपालिका-१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मेचीनगर-१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए । मेचीनगर-१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १-०१-०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो ।

मोटरसाइलकमा तीन जना सवार थिए । दुर्घटनामा घाइते मेचीनगर-१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।