चौसट्ठी ज्योतिर्लिँगको दर्शनका क्रममा हाम्रो यात्रा यही असार ८ गते शनिबार काभ्रेक्षेत्रमा पुगेको छ । काठमाडौँबाट करिव १६ कि.मि पूर्व साँगाभन्दा केही पूर्व राजमार्गबाट थोरै उत्तर, खोलाको किनारमा रहेको विकटेश्वर शिवको दर्शन गरिएको छ । ६४ ज्योतिर्लिँग आदिम स्थल सिन्धुलीको कुशेश्वर मानिएको छ, यो शिव लिँग आठौँ मानिएको छ । अघि ने मुनिले विरुपाक्षलाई यहाँ दर्शन गराइएको समय माघकृष्ण औँसी हो भने हामीले विभिन्न समयपछि हाल विभिन्न भक्तहरुसहितले गरेको दर्शन समय भनेको जेठ शुक्ल पूर्णिमा हो ।
विकट नाम गरेको म्लेच्छले हिँसाबाट बच्न र आफुले गरेको खराब कामको प्रायश्चित्त गर्दै शिव आराधना गरेर शिवजीलाइ आफ्नै विकट नामबाट विकटेश्वर राखी भजन किर्तन, ध्यान, धर्म, रुद्राभिषेक गरिएको प्रसंगमा यो ज्यातिर्लिँग स्थापना भएके हो ।
यात्राकै क्रममा हाम्रो समुह बनेपा सहर उत्तर पूर्व स्थित चण्डेश्वर ज्योतिलिँगमा पुग्यो । बनेपाकी चण्डेश्वरी देवीको सर्वत्र प्रचार भएको छ, चण्डेश्वरी मन्दिर प्राँगणमा रहेका शिवको रुद्राभिषोक पाठ, वन्दना, पूजा, आराधनाले मानिसका सबै भय दूर हुने र थप शक्ति सन्चय हुने मान्यता रहेको छ । स्कन्द पर्वतबाट आएकी रुपवती नदी र रुद्रावती नदीको संगम उग्रतीर्थ हो । यो तीर्थमा स्नान गरी अघि दैत्य अन्धकको छोरो चण्डले चैत्रशुक्ल नवमीमा यो शिवलिंगको पूजा आराधना गरी सर्वत्र विजयी बन्न सक्षम भएकाले यहाँको नाम चण्डेश्वर भएको कथा स्कन्द पुराणमा उल्लेख छ । चण्डिका देवी संगै रहेकी र यहाँ ने मुनिले विरुपाक्षलाई दर्शनगराइएको समय माघकृष्ण औँसी हो ।
यात्राकै क्रममा सोही दिन हाम्रो समूह चण्डेश्वरदेखि केही दक्षिण भाग रौद्र पर्वतमा पुग्यो जहाँ धनदायी धनेश्वर शिव लिँग रहेका छन् । अघि भृगु ऋषिले तप गरेको स्थान हो यो । अघि एक शिवदास वैश्य गरिव थियो, दान गर्न सकेन, दरीद्र भयो, धनार्थी हुँदै यहाँको दर्शन, पाठ, पूजा गरेकाले ज्योतिर्लिँगको नम नै धनेश्वर रह्यो । ओम नम शिवायको पन्चाक्षरी मन्त्र जप्दै १२ वर्ष समय तप गरेपछि ऊ संसारकै धनी बन्यो । माघ कृष्ण औँसीमा ने मुनिले विरुपाक्षलाई दर्शन गराई उनको मातृगमनको दोष मुक्त गराएका थिए ।
यहाँको दर्शनपछि हामी सिधै इन्द्रेश्वर मन्दिर, पनौती हान्नियौँ । पनौती स्नान, पनौती जात्राको समय यसै दिन परेकाले बजार खचाखच थियो, भक्तहरुको धेरै भिड पनि । कुन्ज पर्वतको फेदीमा पर्ने पनौती रुद्रावती र लीलावतीको संगम हो । ६४ ज्योतिर्लिँगको नवौँ लिँग रहेको यो क्षेत्र ठूलो तीर्थ हो र यहाँ १२ वर्षे मेला पनि लाग्छ । यो शची तीर्थ हो । देवेन्द्र पत्नी इन्द्राणीले आफ्ना पतिको पाप मोचनका लागि पार्वतीको आराधना गरेको र इन्द्रले शिव आराधना गरेको क्षेत्र हो यो । अघि छलेर इन्द्रले गौतम ऋषिकी पत्नी अहिल्या गमन गरेको थाहा पाएपछि ऋषिले जीउभरि योनी उत्पन्न होस् भनी श्राप गरेपछि त्यो श्रापमोचन गर्न इन्द्र यहाँ आएर लामो समय शिववन्दना गरेको र इन्द्राणीले पतिको जीवन बचाउन पार्वतीको आराधना गरेका थिए । इन्द्रकै नामबाट यो क्षेब इन्द्रेश्वर भएको र ने मुनिले विरुपाक्षलाई दर्शन गराएको समय माघ कृष्ण अष्टमी थियो ।
त्यसपछि हाम्रो यात्रा पनौतीबाट दक्षिण पश्चिम उकाली लाग्यो । हाम्रो गन्तव्य थियो भालेश्वर पुग्ने । निकुन्जाचल पर्वतमा गन्धर्व तीर्थ नजिकै भालेश्वर शिव लिँग र मन्दिर रहेको छ । सतीदेवीको मृत शरीर निधार पतन भएको र संस्कृतमा निधारलाई भाल भनिएकाले यहाँको नाम भालेश्वर रह्यो । नजिकै लीलावती र सुखश्रवा नदीको संगम छ । अघि रम्भा नमकी अप्सराले सुमुख नामको गन्धर्वलाई कामवाणले घायल भइ हेरिरहिन् । सुमुखले गालामा चुम्वन गरिदियो, रम्भालाई मन परेन र पृथ्वीमा झर्नु परोस् भनी श्राप दिइन् । पछि उसको इच्छा स्वर्ग फर्कने रहेको र स्वर्गको गन्धर्व सुखबाट वन्चित भई धर्तीमा सय वर्ष बस्नु परेकाले गालव ऋषिलाई आप्mनो कहानी बताएपछि यहाँ भालेश्वर शिवको आराधना पछि फेरि स्वर्ग मिल्छ भन्ने सन्देश पाएर लामो समय भालेश्वरको व्रत आराधनापछि उसले धर्र्ती छोडेर आप्mनो साविकको पदवी पाउन सफल भयो । मनले चिताएको काम पूरा हुने हुनाले यहाँ जाने भक्तहरु अहिले पनि धेरै छन् । अघि ने मुनिले विरुपाक्षलाई दर्शन गराइएको समय माघ कृष्ण नवमी थियो ।
आम पाठकवृन्दमा नमन, हामी यस्तै यस्तै काममा लामो समयदेखि लागिरहेका छौँ, अन्यान्य तीर्थ र खासगरी ६४ ज्योतिर्लिँगको उजागर हुन बाकी नै छ, हाम्रै देशमा धेरै मठ मन्दिर छन् । विश्व हिन्दु महासंघ राष्टिृय समितिले यस्ता काममा प्रश्रय दिएको छ, यसका लागि यहाँहरुले पंक्तिकारलाई बा फेसबुक पेजमा गएर रेखा अर्याललाई सम्पर्क गर्न सक्नु हुनेछ । नेपालका १० जिल्लामा यस्ता ज्योतिर्लिँगहरु रहेका छन् । यही १६ गते हामीले भक्तपुर् चाँगु, नगरकोट, बागेश्वरी, हनुमानघाट, सिपाडोल, गुण्डु र तर्खागालको भ्रमण गराउने क्रममा छौँ । नेपालकै ४ धामको अवधारण लिएर पंक्तिकारले धार्मिक अभियान सन्चालन गरिरहेको छ ।


















