सुदूरपश्चिमका मुख्यमन्त्रीले मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरुलाई दिए जिम्मेवारी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (आइतबार) मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।

आज नै पाँचै जनाले पदभार ग्रहण गर्ने भएका छन् । उनले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएका छन् । भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।

यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयका महाशाखा एकअर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय, उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई भने यथावत राखिएको छ ।

मन्त्रालय फुटाएसँगै मुख्यमन्त्री सोडारीले आइतबार नै विना विभागीय मन्त्रीको कार्यविभाजन गरेका छन् । उनले माओवादी केन्द्रका उपनेता समेत रहेका अक्कलबहादुर रावललाई जलस्रोत तथा सहरी विकास मन्त्रालय, एमालेका बिरबहादुर थापालाई वन वातावरण तथा सहकारी मन्त्रालय, हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, माओवादी केन्द्रकै लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालय र एकीकृत समाजवादीकी माया पन्तलाई उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मन्त्रालय फुटेपछि यसअघि विभागीय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय पनि परिवर्तन भएको छ । नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, टीका थापालाई कृषि तथा भूमि सुधार मन्त्रालय, माओवादी केन्द्रका ओमविक्रम भाटलाई स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ ।