नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताए । साथै, सोमबार नेपाली कांग्रेससँग भएको सहमति कसरी कार्यान्वयन गर्ने भन्नेमा छलफल हुने जनाइएको छ । सहमतिअनुसार दुई पार्टीबीच सुरुका दुई वर्ष एमालेले सरकारको नेतृत्व गर्ने र बाँकी अवधि कांग्रेसले गर्ने समझदारी भएको छ ।
सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी भएपनि हालसम्म समझदारी पत्र भने सार्वजनिक भएको छैन ।



















