राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । आजको बसेको रास्वपाको बैठकले वर्तमान गठबन्धनमा सहभागिता नजनाउने प्रमुख सचेतक सन्तोष परियारले बताए ।
बैठकपछि पार्टीका सचेतक परियारले अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि मन्त्रीहरू फिर्ता बोलाउने बताए । उनले भने, ‘घटना अगाडि बढिसकेपछि हामी अब बन्ने गठबन्धनमा रहँदैनौँ । नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढ्ने बित्तिकै हामी यो सरकारबाट बहिर्गमित हुनेछौं ।’
परियारले यो गठबन्धन देश हितमा नरहेको र राजनीतिक स्थायित्व दिने विश्वास पनि नरहेको उल्लेख गरे । उनले भने, ‘अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । हामी सरकारमा जाँदैनौँ, त्यो एकदम स्पष्ट नै छ । बाँकी के गर्ने भन्ने कुरा अहिलेको राजनीतिक प्रक्रिया अघि बढिनसकेको हुँदा सरकार परिवर्तन हुने प्रक्रियापछि हामी स्वभाविक रूपमा बाहिर निस्कन्छौँ ।’
उनले परम्परागत पार्टी रातारात सरकार बदल्ने कुरामा अभ्यस्त रहेको तर जनताको सङ्घर्षबाट नयाँ व्यवस्था आएपछि चेत खुल्नुको सट्टा २०४७ सालदेखि जुन कुरामा अभ्यस्त रहेका थिए त्यो कुराबाट पर नगएको र त्यसमा रास्वपाको विमति रहेको बताए । उनले भोली पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने, सरकारमा बस्दाका कुरा, कामहरू बारे समीक्षा गर्ने उल्लेख गरेका छन् ।



















