इटहरी उपमहानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका २०८१/८२ को बजेट पारित गरेको छ । यही असार १० गते नगरसभामा इटहरी-६ का वडाध्यक्ष दिवस पोखरेलले तीन अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट पेस गरेका थिए ।
असार मसान्तसम्म पारित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था बमोजिम बहुमत नगरसभा सदस्यको समर्थनमा पास भएको हो । उपमहानगर उपप्रमुख सङ्गीता चौधरीले असन्तुष्टि जनाउँदै अनुपस्थित भएपछि वडाध्यक्ष दिवस पोखरेलले विनियोजन विधेयक र अर्थ विधेयकमा छलफल चलाएका थिए ।
बजेटमा सङ्घीय समानीकरण अनुदान २९ करोड ५६ लाख, सङ्घीय सशर्त अनुदान चालुतर्फ ४९ करोड ४३ लाख र सङ्घीय सशर्त अनुदान पुँजीगततर्फ ८१ करोड ९३ लाख ११ रुपैयाँ प्राप्त हुने उल्लेख छ । त्यस्तै सङ्घीय समपुरक अनुदान चार करोड, सङ्घीय विशेष अनुदान पाँच करोड रुपैयाँ आउने प्रक्षेपण गरिएको हो ।
प्रदेश समानीकरण अनुदान एक करोड ९४ लाख, प्रदेश सशर्त अनुदान चालु खर्चतर्फ ३२ लाख ३८ हजार, प्रदेश सशर्त अनुदान पुँजीगत खर्चतर्फ दुई करोड ४४ लाख र प्रदेश समपुरक अनुदान एक करोड ७७ लाख रुपैयाँ आउने बजेटमा उल्लेख छ ।
सङ्घीय राजस्व बाँडफाँट १९ करोड ११ लाख, प्रदेश राजस्व बाँडफाँट (सवारी कर) दुई करोड ३३ लाख र प्रदेश राजस्व बाँडफाँट (मालपोत रजिष्ट्रेशन) ५६ करोड रुपैयाँ अनुमान गरिएको हो । चालु खर्चतर्फ एक अर्ब ४१ करोड ३४ लाख ३७ हजार रुपैयाँ अर्थात् कूल बजेटको ३९.५ प्रतिशत खर्च गर्ने उपमहानगरपालिकाको योजना छ ।
वित्तीय व्यवस्थाअन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख अर्थात् कूल बजेटको ०.२५ प्रतिशत र पुँजीगततर्फ दुई अर्ब १५ करोड ६० लाख (६०.२५५) खर्च गर्ने बजेटमा उल्लेख छ । जसमध्ये विषयगततर्फ ३० करोड, वडा सीमातर्फ ३८ करोड, नगरस्तरीय योजनाको लागि आठ करोड रुपैयाँ विनियोजन गरिएको छ ।


















