काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसद रोशन कार्कीले अभिभावक शिक्षालाई जोड दिनुपर्ने बताए । उनले कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी नरहेको विषयलाई हेर्नुपर्नेमा जोड
दिए ।
नेपालमा बालबालिकाको शैक्षिक विकासमा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले खेल्दै आएको भूमिकाबारे आज भएको छलफलमा सांसद शान्ति श्रेष्ठले युनेस्कोले शिक्षाको क्षेत्रमा राम्रो भूमिका निर्वाह गरेको बताए । उनले अभिभावक तथा शिक्षकहरुलाई पनि अनौपचारिक शिक्षाको खाँचो रहेको औँल्याए ।
सांसद सीताकुमारी रानाले भविष्य राम्रो बनाउने हो भने बालबालिकामा लगानी गर्नुपर्ने धारणा राखे । युनेस्कोको शिक्षा विभाग प्रमुख ध्रुवराज रेग्मीले युनेस्कोले शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आइरहेको बताए । उनले सरकारले औपचारिक शैक्षिक क्षेत्र प्राथमिकतामा राखे पनि अनौपचारिक क्षेत्र छुटाएको बताए ।
उनले युनेस्कोले ‘ग्रिनिङ एजुकेसन’ को अवधारणा ल्याएको जसले जलवायु परिवर्तनको विषयलाई कसरी पाठ्यक्रममा लान सकिन्छ भन्नेमा काम भइरहेको बताए ।
युनेस्कोका सञ्चार तथा सूचना अधिकारी निर्जना शर्माले कोभिडका बेला धेरै बालबालिका अनलाइन शिक्षामा जोडिन पुगेको तर अहिले त्यसको नकारात्मक असर देखिरहेको तथ्य उजागर गरे ।















