पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउन सांसद बेलबासेको सुझाव

काठमाडौँ । सांसद गङ्गाकुमारी बेलबासेले राजनीतिक स्थिरता र विकास निर्माणका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने धारणा व्यक्त गरे । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने गरी काम गर्न आग्रह गरे ।

“खर्चिलो चुनाव भयो भनिएको छ । जनताबाट निर्वाचित भएको कार्यकारी प्रमुखलाई निर्वाचन गर्न हामी पहिलेदेखि नै तयार छौँ । यो पक्षमा जाने आँट गर्नुहुन्छ भने हामी समर्थन जनाउँछौँ”, उनले भने। उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन हुँदा स्थिर सरकार बन्न सक्ने धारणा राखे ।

सांसद आनन्दप्रसाद ढुङ्गाना संविधान संशोधन गर्नु भनेको समावेशी प्रणाली विरोधी नभएको बताए । उनले प्रतिपक्षी दलले संविधान संशोधन गर्नु भनेको समावेशी विरोधी भएको भन्दै लगत भाष्य प्रचार गरेको बताए ।

उनले राजतन्त्र हटाएर गणतन्त्र ल्याउँदा र संविधान बनाउदासमेत सत्तापक्ष पार्टी सधैँ समावेशीकै पक्षमा रहदै आएको बताए । “समानुपातिक समावेशी नेपाली जनताले पाइसकेको अधिकार हो”, उनले भने, “सरकार विरोधी होइन, प्रतिपक्षीको गलत प्रचार हो ।”

उनले जनताले अब सरकारसँग परिणाम खोजेको उल्लेख गर्दै त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । संविधान संशोधन निकासको अर्को आधार भएको उनको तर्क थियो । गठबन्धन सरकारले संविधानको संशोधनको कुरा उठाउनु मुलुकलाई निकास दिनका लागि भएको उनले बताए । संविधान बनेको दश वर्षपछि यसका सबल र निर्वल पक्षमाथि समीक्षा गर्नुपर्नेमा उनले जोड दिए ।